
काठमाडौं,९जेष्ठःकाठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षका कृष्ण नगरकोटीले आर्थिक अवस्था कमजोर भएका कारण कोठाभाडा समेत तिर्न नसक्दा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार भक्तपुरको छालिङ–७ का नगरकोटीले काठमाडौंमा ट्याक्सी चलाउँथे । ट्याक्सी चलाउँदा पनि आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो ।पत्निले छोडेपछि नगरकोटी छोरा रिचेन र छोरी रश्मीसँग काठमाडौंको रविभवन, गणेशथानमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंंका प्रवक्ता एंव प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा आर्थिक अवस्थाकै कारण नगरकोटीले आत्महत्या गरेको खुलेको जानकारी दिए । नगरकोटीको मंगलबार बिान शव फेला परेको थियो । उनका छोरा रिचेन पनि घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पछिल्लो तीन महिनायता कोठाभाडा तिर्न नसक्दा तीनै जनाले ट्याक्सीमा रात कटाउँदै आएको तथा रिचेन र रश्मीको मानसिक अवस्था पनि सामान्य नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीले सेतोपुल नजिकै रश्मीलाई ट्याक्सीभित्र बसिरहेको अवस्थामा फेला पारी उद्धार गरेको छ ।

