वीरगन्ज,६जेष्ठः पर्साको पोखरिया अस्पतालको स्तरोन्नत्ती गरेर सेवासुविधा थप्न संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवसंग आग्रह गरिएको छ ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता नेजामुद्दीन समानीले आइतबार मन्त्रालयमा स्वासथ्यमन्त्री यादवलाई भेटेर पोखरिया अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नत्ती गर्दै अरु सेवासुविधा थप्न माग गर्दै ज्ञापनपत्रपनि बुझाएका हुन् । पोखरिया अस्पताल, जिल्लाका ग्रामीण भेगका बिरामीको उपचारका लागि एकमात्र अस्पताल रहेको र त्यहाँ बिरामीको उपचारको चापपनि धेरै रहेको तर त्यसअनुसारको शैया र उपकरण नहुदाँ ग्रामीण भेगका बिरामी अन्यत्र जानुपर्ने बाध्यता रहेको समानीले मन्त्री यादवलाई बताए ।
यस्तै नेता समानीले पोखरिया नगरपालिका वडा नम्बर ८ मा रहेको बर्थिङ सेन्टरको भवन निर्माणका लागि सरकारको नीति तथा कार्यक्रममा आवश्यक बजेट समावेश गराउनपनि मन्त्री यादवसंग माग गरे । यस्तै पर्सामा मधेस आन्दोलनका संस्थापक स्वर्गीय बाबा रामजनम तिवारीको नाममा अस्पताल निर्माण गर्न र रक्तसञ्चार केन्द्रका लागि आवश्यक उपकरण उपलब्ध गराउनपनि समानीले मन्त्री यादवसंग ज्ञापनपत्र मार्फत माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री यादवले आफ्नो गृह जिल्ला पर्साको स्वास्थ्य क्षेत्रको सुधारलाई आाँफुले प्राथमिकतामा राखेको भन्दै नेता समानीले गरेका माग सम्बोधन गर्ने आश्वासन दिए ।

