Madhes Khabar
स्थानिय

ठोरीमा महिलाहरुलाई आत्मनिर्भर बनाउन ६ महिने सिलाईकटाई तालिम सञ्चालन

वीरगन्ज,१जेष्ठः पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ ब्रम्हनगरमा ६ महिने निशुल्क सिलाईकटाई तालिम सुरु भएको छ । पर्सा ख्रिष्टियन समाजले ठोरी गाउँपालिका वडा नम्बर ३ को समन्वय र काठमाण्डौको सर्भ नाओ नेपाल नामक संस्थाको आर्थिक सहयोगमा सिलाईकटाई तालिमको आयोजना गरेको हो ।

मंगलबार तालिमको उद्घाटन गर्दै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सीप सिकेर स्वरोजगार बन्न तालिममा सहभागी महिलााहरुलाइ सुझाव दिए । निशुल्क रुपमा सीप सिक्ने अवसरको सदुपयोग गर्दै आयआर्जनको बाटो बनाउनुपर्नेमा उनले जोड दिए ।

सीप सिकेर समूहमा व्यवसाय सुरु गर्न आग्रह गर्दै उनले त्यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए ।सीप सिकेर स्वरोजगार बनेमा आर्थिक रुपमा सबल भएपछि नेतृत्व विकास हुने र घरेलु हिंसा एंव सामाजिक विभेद अन्त्य हुने पनि उले बताए ।

तालिमको उद्घाटन कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष शम्भु खड्काले सीपले व्यक्तिलाई सक्षम बनाउने धारणा राखे । व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गरी अर्थाेपार्जन गर्ने हिसाबमा सीप सिक्नु उनले सहभागीहरुलाई आग्रह गरे ।

बढ्दै गरेको बेरोजगारीलाई कम गर्न तथा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले निशुल्क सिलाईकटाई तालिम सुरु गरिएको समाजका अध्यक्ष रामप्रसाद घिमिरेले बताए । महिलाले सीप सिकेर आयआर्जन गर्न थालेमा महिला हिंसा जस्ता सामाजिक विकृति पनि अन्त्य हुने उनको विश्वास छ । झारा टार्ने हिसाबले नभई सहभागीहरुलाई दक्ष बनाउने गरी तालिम सञ्चालन हुने उनले बताए । घिमिरेकाअनुसार प्रशिक्षार्थीहरुले ६ महिनापछि प्रमाण पत्र पाउने बेला आफैले सिलाएको कपडा लगाउन सक्ने गरी सक्षम बनाउने योजना छ ।

सीप नभएकै कारण विभिन्न प्रलोभनमा पारेर नेपाली छोरीहरुलाई फसाउने र बाहिरी देशमा लिएर अलपत्र पार्ने अवस्थाको अन्त्यका लागि पनि सीप सिक्न जरुरी रहेको समाजका सल्लाहकार बाबुराम क्षेत्रीले बताए ।तलिमको उद्घाटन कार्यक्रममा ठोरी गाउँपालिकाकी कार्यपालिका सदस्य ज्ञान कुमारी जोशी, वडा सदस्य टीकाबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको समाजका महासचिव राजकुमार गजमेरले जानकारी दिए ।

६ महिनासम्म सञ्चालन हुने तालिममा प्रमिता चौधरीले प्रशिक्षण दिनेछन् । तालिममा वडा नम्बर ३ कै २० जना युवती एंव महिलाहरुको सहभागीता रहेको छ ।उद्घाटन कार्यक्रमको सहजीकरण स्थानीय रामबहादुर श्रेष्ठले गरेका थिए ।

Related posts

पत्रकार ध्रुब साह वीरगन्ज महानगरपालिकाद्वारा सम्मानित

MadhesKhabar

‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने

MadhesKhabar

वीरगन्जका चोक चोकमा आगो ताप्ने व्यवस्था

MadhesKhabar

Leave a Comment