मधेसखबर
वीरगन्ज,१३पुस: कठ्याग्रिदो जाडो बढेसँगै वीरगन्ज महानगरपालिकाले ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
३२ वटै वडाका वडाअध्यक्षको सुझावमा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न महानगरपालिकाले दाउरा उपलब्ध गराएको छ ।
बुधबारदेखि फेरि शीतलहर सुरु भएकाले महानगरका ३२ वटै वडामा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको महानगरका मेयर राजेशमान सिंहले बताए । उनका अनुसार महानगरले यस वर्ष जाडोबाट बँच्न आगो ताप्न ३ सय क्विन्टल दाउराको व्यवस्था गरेको छ । यस्तै महानगरले नै विभिन्न स्थानबाट संकलन गरेको ६ ट्रक रुखका जराहरु पनि जम्मा गरेर राखेको छ ।
आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै मेयर सिंहले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा माग गर्न वडावासीहरुलाइआग्रह गरे ।
महानगरले बजार क्षेत्रमा आदर्शनगर चोक, घण्टाघर, माइस्थान चोक, मुरलीचोक, छपकैयाँ, विर्ता, पुरानो बसपार्क, मालपोत चोकका साथै ग्रामीण वडाका पनि सार्वजनिक आगो ताप्ने व्यवस्था मिलाएकाे मेयर सिंहले बताए ।