काठमाडौं,१६फाल्गुन:: नेपाल वाफ महिला च्याम्पियनसिप २०२४को फाइनलमा पुगेको छ।मंगलबारराती भएको सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
साउदीको जेद्दा शहरको किङ अव्दुला सिटी स्पोर्टस स्टेडियममा भएकाे खेलको ३८ औं मिनेटमा नेपालकी डिफेन्डर पूजा राणाबाट आत्मघाती १ गोल भएको थियो।
पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालकी सावित्रा भण्डारी (साम्बा)ले ७५ औं मिनेटमा गोल गर्दै बराबरी बनाएकी थिइन्। खेलको ९४ औं मिनेटमा डिफेन्डर प्रिती राईले दोस्रो गोल गरेर नेपाललाई जित दिलाइन्।
नेपाल यो जितसँगै वाफ च्याम्पियनशिपको फाइनलमा पुगेको हाे। यसअघि पनि नेपालले समूह चरणको सुरुवाती खेलमा सिरयालाई ४-१ , ईराकलाई ५-० र प्यालेस्टाइन लाई ४-० गोलले पराजित गरेको थियो। नेपालको समूहमा इराक, सिरिया र प्यालेस्टाइन रहेका थिए।
नेपालले अब फाइनलमा जोर्डनसँग खेल्नेछ। फाइनल खेल २९ फरवरी बिहीबार हुनेछ। मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा प्यालेस्टाइनलाई ५-० गोलले हराउँदै जोर्डन फाइनलमा प्रवेश गरेको थियो। जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो।

