काठमाडौं,२२मंसिरःकाठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएलमा) सुदूरपश्चिमले लगातार तीन खेलमा जित हात पारेको छ । शनिबार भएको आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई सहजै पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनको फराकिलो अन्तरले हराएको हो ।
१८८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४२ रनमात्र बनाएपछि खेलमा सुदूरपश्चिमले सहज जित हात पारेको हो ।
लुम्बिनीका लागि विवेक यादवले ५४ बलमा अविजित ७७ रन बनाए भने सन्दिप जोराले २६ बलमा २० रन जोडे । बलिङ्तर्फ सुदूरपश्चिमका लागि सैफ जेब र ब्रान्डन म्याकमुलेनले समान तीन तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।उसका लागि सैफ जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले १८ बलमा अविजित ३९ रन बनाए भने ब्रान्डन म्याकमुलेनले २० बलमा २३ तथा विनोद भण्डारीले १२ बलमा १७ रन जोडे । आरिफ शेख भने डक आउट भए ।
बलिङ्तर्फमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १–१ विकेट लिए ।सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो ।

