वीरगन्ज,१४फाल्गुन:राैतहटकाे ग्रामीण भेगमा योग्यता र ईजाजत बिना अस्पताल खोलेर शल्यक्रिया गर्ने दुई भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतकाे बिहार राज्यकाे जिल्ला पूर्वी चम्पारण थाना ढाका–१४ खैरवा बस्ने ४५ बर्षीय हसिन अख्तर,बिहारकै जिल्ला पुर्वी चम्पारण थाना शिकारगञ्ज–३ वटोआ बस्ने २७ बर्षिय मोहम्द तबरेज आलम र रौतहटकाे यमुनामाई गाउँपालिका–२ भेडियाही टोल बस्ने २७ वर्षीय कलाम मन्सुरी रहेका छन्।
तीनै जनाले राैतहटकाे यमुनामाई गाउँपालिका–१ सुकदेव चौकमा सगरमाथा तराई हस्पिटल प्रालि सञ्चालन गरी बिरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगायतकाे शल्यक्रिया गर्दै आएको प्रहरीले जनाएको छ।
योग्यता र ईजाजत बिना अस्पताल सञ्चालन गरि उपचार गर्दै आएको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुगमनको क्रममा उपचार गर्न पाउने ईजाजत पत्र मांग गर्दा निजहरुसंग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र नभएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निम्ति सूचना अधिकारी झलक शर्माले जानकारी दिए।
तीनैजनाबिरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको शर्माले बताए।साभार:देशसञ्चारबाट

