वीरगन्ज,१२फाल्गुनःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बैभव वीरगन्जका लागि शैक्षिक क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।वीरगन्जको गौतम माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन मेयर सिंहले महानगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीको चौतर्फी विकासका क्षेत्रमा काम गरीरहेको बताए ।
यसकासाथै उच्च शिक्षाका लागि वीरगन्ज भन्दा बाहिर जाने प्रवृतिलाई अन्त्य गर्दै वीरगन्जमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।उनले भने, ‘हामीले सोच परिवर्तन गर्ने बेला भएको छ । उच्च शिक्षाका लागि वीरगन्ज भन्दा बाहिर पठाउने गरिन्छ । यहाँकै शैक्षिक संस्थामा विश्वास नभएको हो र ?’
मेयर सिंहले भने, ‘जग नै यति बलियो छ भने घर पनि बलियो हुन्छ भन्ने विश्वास दिलाउन जरुरी छ । वीरगन्जको शैक्षिक क्षेत्रको छुट्टै इतिहास छ, अब त्यही इतिहास फेरी फर्काउने बेला भएको छ । यसका लागि सबै शिक्षाकर्मी एवम् सरोकारवालाले हातेमालो गर्न आवश्यक छ ।’
कार्यक्रममा उपस्थित अतिथीहरुलाई शब्दमार्फत स्वागत गर्दै गौतम माविकी सहायक प्रधानाध्यापिका परीक्षा लामाले ४७ वर्षमा प्रवेश गर्दाको समयमा थुप्रै उतारचढावको सामना गरेको बताइन् । २०३१ सालमा ४ जना विद्यार्थीबाट गौतम मावि सुरु भएको जानकारी गराउँदै उनले भनिन्, ‘अहिले सबै अभिभावकको रोजाईमा हामी पर्ने गर्छाै । यसका साथै हरेक वर्ष एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउने गर्दछौँ । यो हाम्रो ठूलो उपलब्धी हो ।’
कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मका १२ सय विद्यार्थीले विभिन्न क्रियाकलापमा सहभागिता जनाएको पनि उनले जानकारी गराइन् ।

