वीरगन्ज,१२माघः वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले पनि शुक्रबार भारतको ७५ औं गणतन्त्र दिवस मनाएको छ । वीरगन्जको श्रीपु्रस्थित भारतीय महावाणिज्य दूतावास परिसरमा विभिन्न कार्यक्रम गरेर भारतको ७५ औं गणतन्त्र दिवस मनाइएको हो ।
भारतीय महावाणिज्य दूतावास परिसरमा आयोजित कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीनाले भारतीय भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले पठाएको सन्देश वाचन गरेका थिए ।उक्त सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि, भारतको अध्यक्षतामा सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिसनबारे चर्चा गरिएको थियो । कार्यक्रममा आमन्त्रित विभिन्न व्याक्तित्वहरुको सहभागीता थियो ।
यस्तै काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार भारतको ७५औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।
त्यसअवसरमा भारतीय राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरे। सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याउँदै उनले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरे।
कार्यक्रममा भारतीय दूतावासले ३० वटा संस्थालाई १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको थियो ।त्यसअवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
सन् १९५० मा आजकै दिन अर्थात जनवुरी २६ मा भारतमा गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।