Madhes Khabar
स्वास्थ्य

स्वास्थ्य बीमाबाट उपचार गराउनेले आजदेखि १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने

काठमाडौं,१माघः आज माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने भएको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए । यसअघि बोर्डमा आबद्ध भएका बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँच जना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाख रुपैयाँसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ ।

बोर्डका कार्यकारी निर्देशक बसौलाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैयासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्नुपर्दैन । सहभुक्तनी प्रणाली संघीय अस्पताल, २५ शैयाभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल र सबै निजी तथा सामुदायिक अस्पतालमा लागू हुनेछ ।

अहिलेसम्म ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् । उनका अनुसार अहिले सक्रिय बीमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन् ।

यस्तै अति गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त, एचआईभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

Related posts

वीरगन्जमा सुरक्षित गर्भपतन सम्बन्धि चार दिने तालिम सुरु

MadhesKhabar

नागरिक सरकारले कटौती गर्‍यो स्वास्थ्य बिमाको सुविधा: अब २५ हजार बराबरको मात्रै ओपीडी सेवा

MadhesKhabar

नेशनल मेडिकल कलेजलेमा पनि मनाइयो नेपाल नर्सिङ दिवस

MadhesKhabar

Leave a Comment