Madhes Khabar
कृषि हेडलाइन

सुर्तीखेती छाडेर ठाेरीका युवाहरु उखुखेतीमा,आम्दानीको ५ प्रतिशत सामाजिक कार्यमा

काठमाडौं,१ माघ:पर्साको ठोरी गाउँपालिकाका युवाहरू सामूहिक उखुखेतीमा लागेका छन् । सुर्तीखेतीको विकल्पमा उनीहरूले सामूहिक उखुखेतीमा लागेका हुन् ।

१५ बिघा जमिन भाडामा लिएर उखुखेती सुरू गरेका उनीहरुले उखुखेतीको आम्दानीबाट ५ प्रतिशत सामाजिक कार्यमा समेत खर्च गरेका छन् ।

सामूहिक उखुखेतीमा संलग्न स्थानीय सोम श्रेष्ठ भन्छन्, ‘उखुखेतीको आम्दानीबाट बिजयबस्ती क्याम्पसलाई १ लाख रूपैयाँ र वृद्धा आश्रमलाई १० हजार रूपैयाँ सहयोग पनि गरेका छौं ।’

कम मेहनत र कम लागतमा बढी आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन पनि आफूहरूले उखुखेती सुरू गरेको अर्का युवा भीम श्रेष्ठ बताउँछन् ।

सामूहिक उखुखेतीमा लागेका सोम श्रेष्ठ भन्छन्, ‘आफूहरूले उत्पादन गरेको उखुलाई चिनी उद्योगसम्म लगेर बेच्नु पर्ने बाध्यता छैन । सख्खर उद्योगले नै आफूहरूको उखु खरिद गर्ने गरेका छन् । त्यसैले किसानले उत्पादन गरेको उखु बिक्री हुँदैन कि भनेर चिन्ता लिनुपर्ने अवस्था पनि छैन ।’

सामूहिक उखुखेतीमा संलग्न अर्का स्थानीय खड्क श्रेष्ठ भन्छन्, ‘आफूहरूको समूहले उखुखेती विस्तार गर्दै लैजाने योजना छ । उखुखेती विस्तार गर्दै लैजाने र स्थानीय स्तरमा उत्पादित उखु बिक्री गर्न अन्यत्र लैजान नपर्ने गरी सख्खर उद्योग नै खोल्ने योजनामा हामी छौं । अन्य किसानले उत्पादन गरेको उखु पनि खरिद गर्ने र आफूहरूले उत्पादन गरेको उखु पनि सोही सख्खर उद्योगमा खपत गर्ने गरी तयारी भइरहेको छ ।’

विदेश पलायन हुने युवालाई स्वदेशकै माटोमा केही उत्पादन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय बन्न आफूहरू फरक पेशामा रहेपनि सामूहिक खेतीमा लगानी गरेको सोम श्रेष्ठ बताउँछन् । सामूहिक उखुखेतीमा लागेका उनीहरू हाल फरक पेशामा संलग्न छन् ।

युवा जनशक्तिलाई पलायन हुन नदिनका लागि स्थानीय सरकारले पनि नगदेबाली लगाउन युवालाई प्रोत्साहन गर्नुपर्ने सुझाव उनी दिन्छन् । सामूहिक उखुखेतीमा प्रेम श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायतका युवाहरू संलग्न छन् ।

ठोरीमा २७.७२ वर्ग किलोमिटर जमिन खेती योग्य छन् । जसमध्ये सबैभन्दा बढी क्षेत्रफलमा तोरीखेती हुनेगर्छ भने हिउँदे मकै, तरकारी, उखु, केराखेती, सुर्तीखेती पनि हुँदै आएको गाउँपालिकाको कृषि तथ्यांकमा उल्लेख छ ।साभार:अनलाइनखबरबाट

Related posts

पोखरीयाका मेयरलाई कांग्रेसले बुझायो ८ बुँदे ज्ञापनपत्र, माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी

MadhesKhabar

भारतले रच्यो इतिहास : चन्द्रयान–३ चन्द्रमामा अवतरण

MadhesKhabar

पर्यटन क्षेत्रको विकास गर्न सके मधेस प्रदेशको कायापलट हुन्छ : मुख्यमन्त्री सिंह

MadhesKhabar

Leave a Comment