काठमाडौं,११पुषः जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक तथा सांसद प्रदीप यादवले टेरामक्स प्रविधिको खरिद प्रक्रिया बन्द गर्न माग गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोन कल एवं म्यासेजको निगरानी र त्यसको गुणस्तर मापन गर्न भनेर नेपाल दूरसञ्चार प्राधिकरणले (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम) टेरामक्स प्रविधि खरिद प्रक्रिया अगाडि बढाइरहेका वेला सांसद यादवले खरिद प्रकृया बन्द गर्न माग गरेका हुन् ।
लेखा समितिको बुधबार बसेको बैठकमा सांसद यादवले कानुन नबनाई टेरामक्स प्रविधि खरिद तथा लागू गर्न नमिल्ने जिकिर गरे। यसले गोपनीयताको हक हनन हुने र उच्चपदस्थलगायत सबैको कल रेकर्ड दुरुपयोग हुने खतरा उनले औँल्याए। ‘कानुन नबन्दै आफूखुसी व्याख्या गरी टेरामक्समा दूरसञ्चारले जे गरेको छ, कानुनविपरीत छ। सर्वोच्चको परमादेशविपरीत छ। कानुन नबनाई टेरामक्स किन अगाडि बढाइयो ?’ उनले सोधे।
नियामक निकायबाट अहिले पनि अनुमतिविना कल डिटेल निस्किरहेको भन्दै उनले भने, ‘कानुनले अदालतको अनुमतिमा लेऊ भन्छ। तर, आफूखुसी निकालिएको छ। नम्बर मेटाएर रेकर्ड निकालिरहेका छन्।’
यस्तो अवस्थामा टेरामक्स लागू भयो भने राष्ट्रप्रमुख, विपक्षी दलको नेता कसैको पनि गोपनीयता बाँकी नरहने भन्दै यादवले टेलिकम र एनसेलका कर्मचारीले फोन रेकर्ड गरेर दुरुपयोग गर्ने चिन्ता व्यक्त गरे।‘त्यसै त अहिले पनि अनुमति नलिई थाहा नदिएर रेकर्ड गरिरहेको छ। त्यसैले यसलाई तुरुन्त रोक्नुपर्छ,’ उनले भने।
टेरामक्सका नाममा दूरसञ्चाररलाई खुफिया एजेन्सीजस्तो बनाउन खोजिएको भन्दै यादवले थपे ‘कि खुफिया एजेन्सी भनेर जिम्मा दिनुप¥यो होइन भने यो टेरामक्स प्रक्रिया बन्द गर्नुप¥यो।’
सांसद यादवले अन्य समितिबाट कार्यक्षेत्र मिचेर लेखा समितिलाई पंगु बनाउन खोजिएको टिप्पणीपनि गरे।लेखा समितिले उठाएको एनसेल सेयर खरिद प्रकरणलाई सुशासनको नाममा राज्य व्यवस्था समितिले बीचमै हाइज्याक गर्नु आपत्तिजनक भन्दै उनले यसलाई गम्भीरतापूर्वक लिएर सभामुखसँग कुरा राख्नुपर्ने बताए।

