Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज स्टार्टअप मिट सम्पन्न

वीरगन्ज, २७ असोज: वीरगञ्जमा नव उद्यमी अर्थात् स्टार्टअपहरूको भेला सम्पन्न भएको छ । नेक्नो टेक्नोलोजीद्वारा आयोजित भेला शुक्रवार सम्पन्न भएको हो ।

म्याजिक वेल्स नामक रेस्टुराँमा आयोजित भेलामा एक दर्जन स्टार्टअपका उद्यमीहरूले सहभागिता जनाएका थिए ।त्यस क्रममा उनीहरूले एक अर्कासँग परिचय गर्नुका साथै आफ्नो उद्यम, व्यवसाय र परियोजनाको बारेमा जानकारी साझा गरे ।

वीरगन्जमा स्टार्टअपहरूलाई एकै ठाउँमा ल्याउने उद्देशका साथ कार्यक्रम आयोजना गरिएको नेक्नो टेक्नोलोजीका प्रमुख रवि शङ्कर साहले बताए । ‘वीरगञ्जमा टन्नै स्टार्टअपहरू छन् । कुनै सफल छन् भने कुनै अहिले भर्खरै सुरुवात गरिरहेका छन् तर एक अर्कालाई चिन्दैनन्,’ उनले भने, ‘हाम्रो मुख्य अजेण्डालै यस्ता स्टार्टहरूलाई एक अर्कासँग चिनाइ दिएर एक ठाउँमा ल्याउनु हो ।’

स्टार्टअप ठूलो र सानो भए पनि वीरगञ्जको परिप्रेक्ष्यमा उनीहरूले भोग्ने समस्या भने उस्तै उस्तै रहेको साह बताउँछन् । ‘समाधानका लागि भने कोही अगाडि आइरहेको छैन । कसैले प्रयास गरे पनि एक्लो पहलले त्यो सम्भव भइरहेको छैन । यसरी स्टार्टअपहरू एक ठाउँमा आइदिए संयुक्त रूपमा पहल गर्न सकिन्छ र समाधान निकाल्न एक अर्कालाई सहयोग गर्न सकिन्छ,’ उनले भने ।

कार्यक्रममा स्टार्टअपका प्रतिनिधिहरूले आफ्नो काम, परियोजना, भविष्यको योजना र वर्तमान अवस्थामा भोगिरहेको समस्याका बारेमा छलफल गरेका थिए । छलफलका क्रममा उनीहरूले एक अर्कासँग समन्वय गर्नेदेखि मिलेर काम गर्ने योजना समेत बनाएको सह – आयोजक एयाड्स बी मिडियाका सञ्चालक हिमांशु बरनवालले बताए । ‘हामीले चाहेको पनि यहीँ हो । स्टार्टअपहरू एक अर्कासँग मिलेर काम गरुन्, सहयोग गरुन् र संयुक्त भएर वीरगञ्जमा एउटा राम्रो स्टार्टअप कल्चरको सुरुवात गरुन् । हाम्रो पहिलो प्रयास सफल भएको छ,’ उनले भने ।

बरनवालले स्टार्टअप मिटलाई प्रत्येक महिना गर्ने आफूहरूको योजना समेत रहेको सुनाए । पहिलो भेटमा चिनजान भए पनि दोस्रो, तेस्रो भेटमा सहकार्य गर्ने बाटो खुल्ने, एक अर्कालाई सहयोग गर्ने अवसर मिल्ने उनको विश्वास छ ।

Related posts

वीरगन्ज महानगरपालिका : गत आर्थिक वर्षमा ४५ प्रतिशत बढि राजश्व संकलन

MadhesKhabar

सुनकाे मूल्यले बनायाे नयाँ रेकर्ड

MadhesKhabar

सुनको भाउ हालसम्मकै महँगो

MadhesKhabar

Leave a Comment