
काठमाडौ,३१साउन : मंगलबार इन्धनको मुल्य बढाउने निर्णय गरेको सरकारले बुधबार आजदेखि सार्वजनिक सवारी साधनको भाडापनि बढाएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।
तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र मधेसको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।
बढेको भाडादर आजैबाट लागु भएको हो ।यातायात व्यवस्था विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको छ ।
आयल निगमले १ साउनयता पटक पटक गरी डिजेटमा २१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।आयल निगमले मंगलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो ।साभार : अनलाइनखबर

