
वीरगन्ज,२३साउन : तराईको उरखमाउलो गर्मीमा पिपलको रुखमुनीको छहारीमा बसेर सुस्ताउँदै गरेको अवस्थामा भेटिए ७४ वर्षिय मंगल साह ।छेउमै रहेको गण्डक नहर तर्फ देखाँउदै मंगलले भने,‘ पानीको यस्तो अकाल त आफनो जिवनमा केहिलेपनि देखेको थिइन् , न चापकलमा पानी छ न नहरमा । पानी पटाउन नसक्दा धान खेतमा दरार परिसक्यो । यो सालको खेती त भगवानै भरोसा छ ।
आकाशे पानीको भरमा धानखेती गर्दै आएका यहाँका किसान लामो समयदेखिको खडेरीले पिडामा छन् । त्यसैमा गण्डक नहरमापनि पर्याप्त पानी नआउँदा किसानको गर्जो टर्न सकिरहेको छैन ।
मंगलकै छिमेकी बाराको महागढीमाई नगरपालिका ७ तेलकुवाँका किसान बिगु यादव भन्छन्,‘ खडेरी र सुख्खाले खेतमा भएको बोरिङ पनि सुकिसकेको छ । पम्पीसेटले पानी पटाउँ भने नहरमा पनि पानी प्रयाप्त छैन ।’
तेलकुवाँकै अर्का किसान हृदय यादव भन्छन्,‘ यसपालि त वर्षापनि त्यति भएन । खेत छेउमै गण्डक नहर त छ तर नामको मात्रै ।नहरमा यति थोरै पानी आइरहेको छ कि पम्पीसेटले तान्नपनि पुग्दैन । यो गण्डक नहर त हाम्रा लागि आकाशको फल जस्तै भएको छ ।
भारतीय पक्षले विगत एक दशक यतादेखि गण्डक नहरमा दुई देशबिचको सम्झौता अनुसारको पानी नदिदाँ नहरमा आश्रित पर्सा , बारा र रौतहट गरि तीन जिल्लाका किसानहरु वर्षेनी समस्यामा पर्ने गरेका छन् ।
त्यसैमा यसवर्ष तराई मधेसमा लामो समयदेखिको खडेरी परेका कारणलेपनि अहिले धान खेतीको सिजनमा किसानहरुमाथि पिडा झन् थपिएको छ ।
नेपाल–भारत बिचको गण्डक सम्झौता अनुसार नेपाल तर्फको नहरमा भारतले ८ सय ५० क्युसेक प्रतिसेकेण्ड पानी दिनुपर्ने उल्लेख छ ।
तर आर्थिक वर्ष २०७०/७१ यतादेखि भने भारतले नेपाल तर्फको नहरमा सम्झौतामा उल्लेख गरिएको भन्दा झण्डै आधा परिमाणमा मात्र पानी दिने गरेको नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत एंव इन्जिनियर सुरेश साह बताउछन् ।
उनका अनुसार , यसपाली धानबालीको सिजनका लागि भारतीय पक्षले दुइमहिना ढिला गरि असार १५ गतेदेखि मात्रै पानी दिन सुरु गरेको थियो । त्योपनि सुरुमा २ सय क्युसेक मात्र पानी नेपाल तर्फको नहरमा भारतले छोडेका थियो । त्यसपछि पटक पटकको आग्रह र दबाब दिएपछि विस्तारै बढाउदै लगेर भारतले आइतबार ५ सय क्युसेक पानी दिएको साह बताउछन् ।
साह भन्छन्,‘ आव २०६९/७० सम्म सम्झौता अनुसारकै पानी नहरमा भारतबाट आउँथ्यो ,तर त्यसपछि एक दशक भइसक्यो आधा मात्रै पानी नहरमा भारतले दिइरहेको छ ।हामी भारतको रामनगरस्थित गण्डक नहरको दोन कार्यालयमा पटक पटक गएर भेट्छौ। सम्झौताको कुरा गर्छौ तर सुनुवाइ भने आजसम्म हुन सकेको छैन । जति कराएपनि उसले सम्झौताको आधामात्रै पानी दिइरहेको छ ।
भारतले सम्झौताको आधामा मात्र पानी नहरमा दिइरहेका कारण अहिले पर्सा र बारामा ३/३ दिनको आलोपालो गरेर पानी वितरण गरिरहेको बताउदै साह भन्छन्,‘ बारामा पनि १२ नम्बर ब्लक सम्ममात्र पानी पुग्न सकेको छ । रौहतट जिल्लाको त कुरैै नगरे हुन्छ , रौतहटको नहरमा त नहर बनेको समयदेखि नै पानी पुरयाउनै सकिएको छैन ।
गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरि तीन जिल्लाका ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य हो । तर भारतले सम्झौताको आधा मात्रै पानी दिदै आएका कारण रौतहटमा अहिलेसम्म पानी पुरयाउनै नसकिएको साह बताउछन् ।
साह भन्छन्,‘ आकाशे पानी परेको छैन , नहरमा पानी आधामात्रै आइरहेको छ ,त्यसका कारण पर्सा र बाराको नहरमा ३/३ दिनको आलोपालो गरि पानी दिइरहेका छौ । खडेरीले छट्पटिएका किसानहरु नहरको पानीका लागि मारामार गरिरहेका छन् । हामीलाई थेग्नै गाह्रो भइरहेको छ ।
उनि थप्छन्, किसानकाे खेतमा पानी पुर्याउन रातभर गाडीमा कुद्नु परिरहेकाे छ, कति रात त सुत्नपनि पाएका छैनाै ।
भारतीय पक्षले आफनो तर्फको नहरमा पर्याप्त पानी छाड्ने गरेको तर नेपाल तर्फको नहरमा सम्झौताको आधा मात्रै पानी दिएर विभेद गरिरहेकोपनि साह बताउछन् ।
गण्डक नहरको त्रिवेणीस्थित मुहानबाट भारतीय पक्षले गण्डक नहरतर्फ १ हजार ५ सय क्युसेक पानी छोडेको छ । तर भारतीय भूमि हुँदै नेपालसम्म आउँदा नेपाल तर्फको गण्डक नहरमा ५ सय क्युसेक भन्दा कमै पानी आईरहेको साह बताउछन् ।
यसबारेमा भारतीय पक्षलाई पटक पटक भेटेर गुनासो गर्दा उनिहरुले नहरको संरचना पुरनो भइ कमजोर भएका कारण नहरमा कम पानी छाड्ने गरेको बहाना बनाउदै आएको साह बताउछन् ।

साह भन्छन्,‘ तर हाम्रो नेपाल तर्फको नहरको संरचना भारतको भन्दा ठिक छ । किनकि हामीले समय समयमा नहरको सफाई र संरचनाको मर्मत सम्भार गर्दै आएका छौ । त्यसका कारण भारतीय पक्षले सम्झौता अनुसारको ८५० क्युसेक नै पानी दियो भनेपनि त्यसलाई हाम्रो नहरले थेग्छ , नहरमा कुनै नोक्सानी पुग्दैन । समस्या त भारत तर्फको नहरको संरचनामा छ , त्यो उनिहरुको आन्तरिक समस्या हो । हामीलाई हाम्रो नहरमा सम्झौता अनुसारको पानी दिनुपर्छ ।
इन्जिनियर साहका अनुसार, गण्डक नहरको संरचना निर्माण भइ सञ्चालनमा आएको झण्डै ५० वर्ष पुरा भइसकेकाले फेरि गण्डक सम्झौताको पुर्नावलोकन गरि नहरको संरचना पुर्ननिर्माण गर्नुपर्ने आवश्यकता छ । साह भन्छन्‘ गण्डक नहरको संरचनाको आयु ५० वर्षको थियो , ५० वर्ष बितिसकेकोले धेरै संरचनाहरु जीर्ण भइसकेका छन् । त्यस कारण दुवै देशले गण्डक सम्झौताको पुर्नावलोकन गर्नै जरुरी भइसकेको छ ।
साहका अनुसार , गण्डक नहर सम्झौतामा भारतीय पक्षले वर्षमा दुई पटक (धान र गँहु बालीका लागि ) नेपाल तर्फको नहरमा पानी दिनुपर्ने उल्लेख छ । धान बालीका लागि बैशाख १५ देखि असोज १५ सम्म र गहँु बालीका लागि पुष १५ देखि फागुन १५ गते सम्म नेपाल तर्फको नहरमा पानी दिनुपर्ने सम्झौतामा उल्लेख रहेको बताउछन् ।
भारत सरकारले नेपालका तीन जिल्ला (पर्सा, बारा र रौतहट) का गरि ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित हुने गरि सन् १९७५ र ७६ मा दुई चरणमा ८१ किलोमिटर गण्डक नहर निर्माण गरि नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर गण्डक नहर नेपालमा भने पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट प्रवेश गर्छ । नेपाल तर्फको गण्डक नहरलाई १५ वटा ब्लकमा विभाजित गरिएको छ ।

