बारा,२०साउन: स्नातक तह दोस्रो वर्षको परीक्षामा उत्कृष्ट अंक ल्याउँदै नेपालको दसौं स्थानमा उत्तीर्ण हुन सफल बारा जीतपुरसिमराका रयान अन्सारीलाई कलेजले सम्मान गरेको छ।
सिमरामा एक कार्यक्रमको आयोजना गर्दै शुभारम्भ कलेजले ७७ प्रतिशतसहित उतीर्ण भएका छात्र अन्सारीलाई सम्मान गरेको हो।
जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया घर भएका अंसारी नेपाल भरीमै उत्कृष्ट १० भित्र पर्दै स्नातक दोस्रो वर्षको परीक्षामा उत्तीर्ण भएका थिए। कलेजले छात्र अन्सारीसहित उनका बुवा आसमहम्मदलाई समेत सम्मान गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी, मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने र कलेका अध्यक्ष लालप्रसाद पुडासैनीले अन्सारीलाई सम्मान गरेका थिए।
कलेजले अन्सारीसहित दोस्रो वर्षको परीक्षामा उत्तीर्ण भएका अन्य २१ विद्यार्थीलाई समेत सम्मान गरेको थियो। दोस्रो वर्षको परीक्षामा शुभारम्भ कलेजका ६ जना विद्यार्थी प्रथम र १६ जना विद्यार्थी द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर अधिकारीले शैक्षिक क्षेत्रको विकासका लागि उपहानगरपालिकाले तीन करोड विनियोजन गरेको बताए। शिक्षा क्षेत्रको विकास नभएसम्म समृद्ध समाजको कल्पना गर्न नसकिने भन्दै उपप्रमुख अधिकारीले शिक्षा क्षेत्रमा सुधार ल्याउन उपमहानगरपालिकाको कार्यालयले काम गरिरहेको बताए।
यसैगरी मधेस विश्वविद्यालयका उपकुलपति डा. शाक्यले शैक्षिक स्तर सुधार गर्ने कार्यसँगै विद्यार्थी पनि अध्ययनका लागि मानसिक रुपमा तयार हुनुपर्ने बताए। विद्यार्थीले अन्य गतिविधिलाई भन्दा पनि अध्ययनमा केन्द्रीत हुन जरुरी रहेको उनले बताए।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष लामिछानेले शुभारम्भ कलेजको शैक्षिक स्तरको प्रशंसा गरे। सिमराको विद्यार्थीले उत्कृष्ट अंकसहित देशभरीमै १०औं स्थानमा परीक्षा उत्तीर्ण गर्नु गौरवको विषय रहेको लामिछानेले बताए। साभार:अन्नपूर्ण पाेष्ट

