वीरगन्ज,२८भदाैं:हैजा महामारी लगत्तै जेनजी प्रदर्शनका कारण बन्द गरिएका विद्यालयकाहरु भाेलि(आइतबार)देखि सञ्चालनका लागि तयारी थाल्न वीरगन्ज महानगरपालिकाले विद्यालय प्रशासनलाई निर्देशन दिएको छ।वीरगन्ज महानगरपालिकाे शैक्षिक प्रशासन महाशाखाले शनिबार बेलुकी एक सुचना जारी गर्दै बन्द रहेका विद्या लयहरु सञ्चालनका लागि आइतबारदेखि तयारी थाल्न निर्देशन दिएकाे हाे।
देशमा सिर्जित असहज परिस्थितिको कारणबाट विगत केहि दिनदेखि विद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलाप प्रभावित भएको अवस्थामा हाल क्रमिक रुपमा परिस्थिति सहज बन्दै गएकोले आइतबारदेखि विद्यालय प्रशासन सञ्चालन गर्न तर आइतबार विद्यालयमा विद्यार्थीहरुलाई नबोलाउन महानगरपालिकाले विद्यालय प्रशासनलाई निर्देशन दिएकाे छ।
वीरगनेज महानगरपालिका क्षेत्रमा हैजा फैलन सक्ने संभावना अहिलेपनि कायमै रहेकोले आइतबार विद्यालयमा रहेका खानेपानी ट्यांकीमा अनिवार्य रुपमा क्लोरिन राख्न तथा शौचालयको सफाइ लगायत सरसफाइका मापदण्डहरुलाई अनिवार्य रुपले परिपालना गर्न र त्यसपछि मात्रै विद्यार्थीहरुलाई विद्यालयमा बाेलाएर शैक्षिक क्यालेण्डर बमोजिम विद्यालयको पठनपाठन क्रियाकलापलाई सञ्चालन गर्न भनिएको छ।
साथै जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएका सुरक्षा सम्बन्धी आदेशलाई मध्य नजर गर्दै विद्यालय सञ्चालनमा विशेष सावधानी अपनाउन साथै कुनैपनि स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जोखिम भएमा तत्काल जानकारी गराउन महानगरकाे शैक्षिक प्रशासन महाशाखाले विद्यालय प्रशासनसंग अनुराेधपनि गरेकाे छ ।