वीरगन्ज ,२८जेष्ठ :वीरगन्जमा जथाभावी फाेहाेर फाल्नेलाई आर्थिक जरिबाना तिराउदै आएकाे वीरगन्ज महानगरपालिकाले जथाभाबी फोहाेर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी समेत गरेकाे छ।
महानगरका सडक , पेटी , नाला तथा गल्लीमा जथाभाबी फोहाेर विरुद्ध जरिबानासँगै अब सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारीपनि गरिएकाे महानगरपालिकाका सरसफाइ महाशाखा प्रमुख सरफुदिन मियाँले बताए ।
गत पुस १७ गतेदेखि “जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्ने” अभियान अन्तरगत आइतबारसम्म ४ सय ८२ जना कारबाहीमा परेका छन् । फोहोर फाल्ने विरुद्धको कारबाहीले १२ लाख ४६ हजार ५ सय ५ रुपैयाँ जरिवाना असुलपनि भएको मियाँले जानकारी दिए ।
जरिबाना गर्दा समेत जथाभावी फोहोर फाल्ने प्रवृत्ति अपेक्षाकृत रुपमा नघटेको बताउँदै उनले अब फोहोर फाल्नेलाई जरिवाना मात्रै नभई सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा समेत चलाउने तयारी महानगरपालिकाले गरेको बताए।
सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा दैनिक तीन चरणमा महानगरले नियमित सरसफाइ गर्दै आएको छ । विगतमा डम्पिङ साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइड बनाएको थियाे ।
आर्थिक राजधानीका रूपमा चिनिएको वीरगन्ज महानगरको पर्यटन प्रवर्द्धनका लागि नगर क्षेत्रको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको मेयर राजेशमान सिंहले बताए । महानगरले वर्षायाम अगाडि नै नगर क्षेत्रका नाला सफा गरेर वर्षायाममा हुने डुबानबाट नगरलाई बचाउने सङ्कल्पका साथ नाला सरसफाइ अभियान समेत तीव्र पारिएको सरसफाइ प्रमुख मियाँले बताए ।सनभार: रेडियो नेपाल

