Madhes Khabar
प्रविधि

वीरगन्जमा क्लासिक टेक इन्टरनेटले ठगी गरिरहेको पिडित सेवाग्राहीको गुनासो

वीरगन्ज, १८ जेष्ठ : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गुणस्तरहिन सेवाका कारण वीरगन्जका सेवाग्राही पिडित बनेका छन् । आफूलाई देशकै सर्वोत्कृष्ट इन्टरनेट सेवा प्रदायक भनेर दावी गर्ने क्लासिक टेकले काम भने ठिक उल्टो गर्ने गरेको प्रयोगकर्ताहरुको गुनासो छ ।

इन्टरनेटमा आएको समस्या बारे गुनासो गरेको पाँच दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएको क्लासिक टेकक प्रयोगकर्ता वीरगन्ज – १२ निवासी श्याम कुशवाहाले दुःखेसो पोखे । ग्राहक प्रतिनिधि केन्द्रमा फोन गर्दा समस्या बारे सम्बन्धित ब्राञ्चलाई जानकारी गराइएको जवाफ आएपनि वीरगन्ज ब्राञ्चले समस्या समाधानका लागि कुनै काम नगरेको कुशवाहाले बताए ।

‘समस्या बारे ग्राहक प्रतिनिधि केन्द्रलाई कयौँ पटक जानकारी गराएको छु तर कुनै सुनुवाइ भएको छैन,’ उनले भने, ‘वीरगन्जस्थित ब्राञ्च अफिसमा पुगेरसमेत गुनासो गरिसक्यौँ । आज, भोलीमा समाधान हुन्छ भनेर त्यहाँका कर्मचारीले जवाफ फर्काउँछन् ।’ इन्टरनेट बापतको शूल्क तिर्न एक दिन ढिलाइ हुँदा सेवा अवरुद्ध गर्ने क्लासिक टेकले पाँच दिनसम्म इन्टरनेट नचल्दाको क्षतिपूर्ति दिनुपर्ने कुशवाहाले माग गरे ।

वडा नम्बर १२ कै राजु मेहता पनि कुशवाह जस्तै क्लासिक टेकबाट पिडित छन् । उनको घरमा पनि विगत पाँच दिनदेखि क्लासिक टेकको ईन्टरनेट सेवा अवरुद्ध छ । ‘क्लासिक टेकको वीरगन्ज ब्राञ्च अफिसमा पुगेर गुनासो गर्दा पोलमा जडान गरिएको उपकरण बिग्रिएको कारण इन्टरनेट नचलेको भन्छन्,’ मेहताले भने, ‘कहिले बन्ने हो थाहा छैन ।’ कम्पनिको उपकरण बिग्रिँदा पैसा तिरेर पनि आफूहरु इन्टरनेट प्रयोग गर्न नपाउनु एक किसिमको ठगी भएको उनको ठम्याई छ ।

वीरगन्ज ब्राञ्चकाका पदाधिकारीसँग भेट्न खोज्दा कोही भेट्न पनि नमानेको मेहताले बताए । ‘त्यहाँका कर्मचारीले हामी समाधान गर्न काम गर्दैछु भन्छन् र त्यस बाहेक आफूहरुलाई केही थाह नभएको बताउँछन् । शाखा प्रवन्धकसँग भेट्न खोज्दा कोही छैन भनेर जवाफ फर्काउँछन् । नम्बर माग्दा पनि दिँदैनन्,’ उनले भने ।

यस विषयमा जानकारी लिन क्लासिक टेकको वेबसाइटमा उपलब्ध वीरगन्जस्थित ब्राञ्चको मोबाइल नम्बर ९८०१००६६३३ मा फोन गर्दा ग्राहक प्रतिनिधि केन्द्रकी कर्मचारीले फोन उठाइन् । वीरगन्ज शाखाका सम्पर्क व्यक्तिको नाम र नम्बर माग गर्दा उनले आफूहरुलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिइन् ।

Related posts

बृत्तचित्र प्रर्दशन तथा छलफल कार्यक्रम सम्पन्न

MadhesKhabar

ट्वीटरमा अब फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने

MadhesKhabar

चुनावका बेला फेसबुकमा के के गरेमा कारबाही हुन सक्छ ?

MadhesKhabar

Leave a Comment