Madhes Khabar
स्थानिय

महानगरले छुट्यायो अतिक्रमणमा परेको गुठी संस्थानको ११ विघा जग्गाको सीमांकन

वीरगन्ज, २२ चैत : वीरगन्ज महानगरपालिकाले गुठी संस्थानको ११ विघा जग्गा नाप जाँच गरेर छुट्याइदिएको छ । बुधबार महानगरको सीमामा पर्ने पर्सागढी नगरपालिका वडा नम्वर ४ मा रहेको भेडाहा टोलको करिब ११ विघा १३ कट्ठा जग्गा नापजाँच गरेर छुट्याइएको हो ।

उक्त स्थानमा गुठीको नाममा करिब एक सय विघा भन्दा बढी जग्गा रहेकोमा बुधबार पहिलो दिन ११ विघा १३ कट्टा जग्गा नापजाँच गरेर छुट्याउनुका साथै किला गाडेर सीमांकन गरिएको हो ।जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहितको टोली बुधबार फिल्डमा पुगेको थियो । गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि महानगरपालिकाले प्राविधिक टिम खटाएर जग्गा छुट्याउन लगाएको हो ।

उक्त ठाउँमा रहेको गुठीको जग्गामा करिब २ सय भन्दा बढी घर परिवारले अतिक्रमण गरेर व्यक्तिगत प्रयोजनमा भोगचलन गर्दै आएका छन् ।

महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान नै चलाएको छ । यही क्रममा गुठी संस्थानको आग्रह बमोजिम गुठीको जग्गा पनि अतिक्रमणबाट हटाउन सुरु गरेको हो ।\

यहि चैत १३ गते महानगरले वडा नम्वर २८ दर्दवामा रहेको गुठी संस्थानको जग्गा अतिक्रमण गरी माटो उत्खनन् गर्ने एउटा स्काभेटरसहित ४ वटा टिप्पर नै नियन्त्रणमा लिएको थियो । त्यहाँ संस्थानको ५२ विघा जग्गा रहेको र त्यसको पनि महानगरले नापजाँच गरेर छुट्याइदिएको थियो ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अहिले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गाका साथै गुठीको जग्गा खोजी गर्ने अभियान चलाइएको बताउँदै कहीँकतै सार्वजनिक जग्गा अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह पनि गरेका छन् ।

बुधबार जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख चुडामणी घिमिरे, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेशप्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुर सहितको टोली खटिएको थियो ।

 

Related posts

सञ्चारगृहमा उच्छृङ्खल हर्कत गर्ने अभिभावक संघका अध्यक्षमाथि कारवाही गर्न पत्रकार महासंघको माग

MadhesKhabar

वीरगन्जमा सडकका कुकुरहरुकाे गरियाे नशबन्दी

MadhesKhabar

वीरगन्जमा नयाँ उद्यम गर्ने युवाहरुलाई सहयाेग गर्न महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment