
वीरगन्ज,१०फागुन : वीरगन्ज महानगरपालिकाले भेडाहा नदि नियन्त्रणको काम सुरु गरेको छ । महानगरपालिकाले वडा २७ देखि ३१ सम्म ५ वडाका निम्ति सुरु गरेको हो ।राष्ट्रिय योजना आयोगको संपूरक बजेटबाट महानगरपालिकाको कार्यालयले २४ करोड ६३ लाख ५ हजार रुपैयाँ लागतमा भेडाहा नदी नियन्त्रण परियोजना सञ्चालन गरेको हो ।
ठेकेदार रमन एन्ड विकास ब्रदर्स ज्वाइन्ट भेन्चरका कम्पनीले २०८० असारमा सम्पन्न गर्ने गरी नदिमा १२ किमी लामो तटबन्ध निर्माण गरिरहेको छ । नदिको उत्तर दक्षिण दुवैतर्फ गरी १२ किमि लामो तटबन्ध निर्माण भइरहेको हो ।
तटबन्ध माथि साढे ५ मिटर चौडा कच्ची बाटो बन्नेछ । महानगरपालिकाको कार्यालय योजना तथा सहरी पूर्वाधार विकास महाशाखा प्रमुख भरतबहादुर थापाले तटबन्ध निर्माण भएपछि जग्गाको कटान र बस्तीमा बाढी पस्ने समस्या समेत टर्ने बताए । ‘हाल भेडाहा नदि नियमित रूपमा एउटै बाटो भएर बग्दैन, बर्सेनि यसले रुट परिवर्तन गर्दा नदि छेउको खेतीयोग्य जग्गा कटान र मानवबस्तीमा नदिको बाढी पस्ने समस्या कायमै छ,’ समयमै नदि नियन्त्रण नगरिँदा वडा नं ३१ को बेल्वा सखाप हुने उल्लेख गर्दै उनले भने, ‘तर तटबन्ध निर्माण भएपछि कटान र डुबान दुवै समस्या तत्कालका लागि समाधान हुनेछ ।’
परियोजनाको कुल बजेटमध्ये योजना आयोग र महानगरपालिकाले व्यहोर्ने जनाइएको छ । आयोगले करिब ५ करोड रुपैयाँ निकासा समेत गरिसकेको छ । साभार : कान्तिपुर

