काठमाडौं,२२माघ : राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने कठोर निर्णय लिएको हो ।
आज आइतबार पार्टी कार्यालयमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।
गृहमन्त्रालयको दावी गरेको रास्वपाले नपाएपछि आइतबारदेखि सरकारबाट बाहिरिएको हो।
सत्ता साझेदार दलमा गृहमन्त्रालयसहित दुई मन्त्रालयको जिम्मेवारी पाएको रास्वपाले पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लामिछानेले लिएका थिए।
नागरिकता सम्बन्धि मुद्दाको फैसलामा लामिछाने दोषी देखिएको ठहरसँगै सर्वोच्चले सांसद पद र उपप्रधान तथा गृहमन्त्रीसहित पार्टी सभापति हुन नसक्ने फैसला सुनाएसँगै रास्वपा आन्तरिक संकटमा परेको थियो।
लामिछानेले जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट नागरिकता लिएसँगै पार्टी सभापति नियुक्त भएपछि सत्ता साझेदार दलभित्र गृहमन्त्रालय पाउन धेरै लविङ गरेका थिए। उनले आफैँ गृहमन्त्री पाउनुपर्ने नभए रास्वपालाई गृहमन्त्रालय दिनुपर्ने दवाव दिए पनि सत्ता साझेदार दलबीच सहमति नजुट्दा रास्वपा सरकारबाट बाहिरिएको हो।
सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन्। मन्त्रीद्वय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
सरकारबाट बाहिरिने निर्णय लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।