काठमाडौं,२२माघ : राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ ।
आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होसे हल पुगेर अर्यालले मनोनयन दर्ता गराएकी हुन्।सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल तथा खिमलाल देवकोटा समर्थक रहेका छन् ।
मनोनयन दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रकी उम्मेदवार अर्यालले निष्पक्ष,तटस्थ र मर्यादित भएर काम गर्ने बताइन्।
पर्साकी नेतृ अर्यालले भनिन्,’राष्ट्रियसभाको उपाध्यक्षमा तटस्थ र मर्यादित भएर काम गर्छु। त्यसका लागि सबै सांसदहरूको सहयोगको अपेक्षा गरेकी छु।’ । उनले पदअनुसारको आचारण गर्नु आफ्नो कर्तव्य रहने बताइन्।
संघीय सचिवालयले आइतबार साँझ ४ बजेसम्म राष्ट्रियसभा उपाध्यक्षको मनोनयनको समय तोकेको छ। साँझ ४ः१५ बजेपछि उम्मेदवारको नाम सार्वजनिक गरिने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने पक्का जस्तै छ ।