Madhes Khabar
समाज हेडलाइन

सिर्सिया नदिमा फाेहाेर पानी मिसाउने उद्योगलाई कारबाही गर्ने निर्णय

मधेसखबर
वीरगन्ज,२५ मंसिर : वीरगन्जकाे लाइफलाइनका रुपमा रहेकाे सिर्सिया नदीमा फोहोर पानी नफाल्न उद्योगहरुलाई सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानले आह्वान गरेको छ ।

उद्योगबाट निस्कने फोहोर पानी सोझै मिसाउँदा नदी प्रदुषित भएको भन्दै पानी सुद्धिकरण गरेर मात्रै नदीमा मिसाउन पनि अभियानले आग्रह गरेको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा आइतबार बसेको सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानको बैठकले पानी प्रशोधन नगरी फोहोर पानी नदीमा मिसाउने उद्योगलाई कारबाहीको दायरामा ल्याउनु पर्ने निर्णय पनि गरेको छ ।

बैठकले पानी प्रशोधन प्लान्ट नभएका उधाेगलाई प्लान्ट बनाउन लगाउने र भएकाहरुले प्रशोधन गरेर मात्रै नदीमा पानी छाड्ने वातावरण बनाउन अनुगमनमा कडाई गर्नु पर्ने निर्णय पनि गरेको छ ।

पानी प्रशोधन नगरी उद्योगबाट निस्कने हानिकारक फोहोर सोझै नदीमा मिसाउँदा सिर्सिया नदी वर्षौदेखि दुर्गन्धित हुँदै आएको छ ।

मेयर सिंहको पहलमा नदी प्रदुषण मुक्त गराउन महानगरले अहिले नदी तटमा रहेका उद्योगहरुको स्थलगत अनुगमन गर्दै आएको छ ।
नदीलाई स्वच्छ बनाउँदै सफा पानी बग्ने बनाउन सबैको साथ चाहिने भन्दै मेयर सिंहले यसका लागि यहाँका उद्योगहरु बढी जिम्मेवार बन्नु पर्ने बताए ।

उद्योगीहरुले आफ्नो उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी नदीमा मिसाउँदा नदी प्रदुषित भएकाले अबदेखि प्रशोधन गरेर मात्रै नदीमा मिसाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।

यस्तै आजको बैठकले सिर्सिया नदीको वास्तविक क्षेत्र ‘राइट अफ वे’ निर्धारण गर्ने निर्णय पनि गरेको छ । ‘राइट अफ वे’ निर्धारणका लागि नापी कार्यालय र वीरगन्ज महानगरका प्राविधिक कर्मचारीको टोलीलाई जिम्मा दिइएको छ । नदीको स्थलगत रुपमा नापजाँच गरी ‘राइट अफ वे’ तय गरेर प्रतिवेदन बुझाउन टोलीलाई बैठकले एक महिनाको समय पनि दिएको छ ।
दिनप्रतिदिन नदी अतिक्रमण हुँदै साघुँरिँदै जाँदा नदी नै विलय हुन सक्ने भन्दै त्यसका लागि नदीको वास्तविक क्षेत्र पत्ता लगाउन प्राविधिक टोली खटाउने बैठकले निर्णय गरेको हो ।
सिर्सिया नदिको वास्तविक क्षेत्र कति हो भन्ने एकिन गरी नदी प्रणालीको वातावरणीय प्रवर्दन र अतिक्रमण नियन्त्रणका लागि पहल थालिएको हो ।

बैठकमा सहभागि वीरगञ्ज उद्योग वाणिज्य संघका अनिल कुमार अग्रवालले नदी प्रदुषण नियन्त्रणका लागि सबै उद्योगीहरु उद्योगमा ट्रिटमेन्ट प्लान्ट जडान गर्न तयार रहेको धारणा राख्द त्यसका लागि केही समय दिन आग्रह गरे ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले उद्योगिले आफ्नो धर्म निभाए सिर्सिया नदीमा हुने गरेको प्रदुषण नियन्त्रणमा आउने बताए ।

बैठकमा महानगरका उपमेयर इम्तियाज आलम, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, घरेलु तथा साना उद्योग कार्यालयका धनन्जय कुमार सिंह, नापी कार्यालय पर्साका नारायण कुमार श्रेष्ठ, महानगरको वन तथा वातावरण शाखाका देवेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Related posts

पत्रकार नेहाल खानकाे उपचारका लागि जन सेवा संस्थाले गर्याे आर्थिक सहयाेग

MadhesKhabar

सरकारी विद्यालयमा मेयर सिंहको अनुगमन, एकै विद्यालयका २४ शिक्षक कारबाहीमा

MadhesKhabar

वीरगन्जका सरकारी कार्यालय र अस्पतालमा जनमत पार्टीले हेल्पलाइन सञ्चालन गर्ने

MadhesKhabar

Leave a Comment