Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा स्वीकृति बेगर सन्चालित प्याथोलोजी ल्याब र क्लिनिकमा सिलबन्दी

मधेसखबर
वीरगन्ज,१० फागुन : वीरगन्ज महानगरपालिकाले वडा नम्वर ४ विर्तामा स्वीकृति बिना सन्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्था सिल गरेको छ ।

महानगरपालिकाले गठन गरेको स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिले एक साता यता वीरगन्जमा रहेका क्लिनिक र प्याथोलोजी ल्याबहरुको अनुगमन गर्दै आएको छ ।प्याथलोजी सेन्टर र क्लिनिकहरुले नागरिकको स्वास्थ्यसंग खेलवाड गरिरहेको र स्वास्थ्य संस्थाहरु विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा समितिले अनुगमनलाई तिब्रता दिएको हो ।

बुधबार अनुगमनका क्रममा अनुमति बेगर सँचालनमा रहेको भेटिएपछि एउटा क्लिनिक र दुई वटा ल्याबमा सिलबन्दी गरिएको हो ।
अनुगमनमा खटिएको टोलीले चित्रांश पोली हेल्थ क्लिनिक, उक्त क्लिनिककै प्याथोलोजी ल्याब र श्री गणेश डाइग्नोस्टिक सेन्टर स्वीकृति बेगर नै सन्चालनमा रहेको भेटेपछि सिलबन्दी गरेको समितिका सदस्य जयप्रकाश महतोले जानकारी दिए ।

तीन वटै स्वास्थ्य संस्था स्वीकृति बेगर संचालन हुनुका साथै प्याथोलोजी ल्याबहरुले म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको भेटिएको पनि महत्तोले बताए ।जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधीको रोहबरमा तीन वटै संस्थामा लाहाछाप लगाएर सिल गरिएको महत्तोेले जानकारी दिए ।

वीरगन्जमा सन्चालित प्याथोलोजी ल्याब र क्लिनिकहरुको गत साता देखि अनुगमन शुरु गरिएकोमा बुधबार देखि भने स्वीकृति नै नलिई सन्चालनमा रहेकालाई सिलबन्दी गर्न सुरु गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए ।

बुधबार अनुगमनका क्रममा तराई डाइग्नोस्टिक, शुभम क्लिनिक र वीरगन्ज डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर मापदण्ड विपरित संचालनमा रहेको भेटिएकाले उनीहरुलाई भने तत्काल बन्द गर्न र मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न चेतावनी दिइएको जयसवालले जानकारी दिए ।

यस अघि महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था संचालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले बुधबारदेखि भने कारबाही नै गर्न थालिएको जयसवालले बताए ।

समितिका सदस्य महत्तोका अनुसार , बुधबार वीर्तामा अनुगमन जाँदा अुगमनमा टोली आएको देखेर कतिपय क्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा औषधी पसलका सन्चालकहरु सटर नै बन्द गरेर फरार भएका थिए ।

बुधबार गरिएको अनुगमन टोलीमा समितिका सदस्य जयप्रकाश महतो, स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवाल, नर्सिङ् अधिकृत इन्दिरा लोहनी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी तथा संचारकर्मीको सहभागिता थियो ।

 

Related posts

अपडेट : पर्सामा ६९ % मतदान, मतगणना साेमबार बिहान देखि शुरु

MadhesKhabar

काे बन्छ मधेसकाे मुख्यमन्त्री ?

MadhesKhabar

पर्सा १ र २ को मतगणना शुरु

MadhesKhabar

Leave a Comment