Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा स्वीकृति बेगर सन्चालित प्याथोलोजी ल्याब र क्लिनिकमा सिलबन्दी

मधेसखबर
वीरगन्ज,१० फागुन : वीरगन्ज महानगरपालिकाले वडा नम्वर ४ विर्तामा स्वीकृति बिना सन्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्था सिल गरेको छ ।

महानगरपालिकाले गठन गरेको स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिले एक साता यता वीरगन्जमा रहेका क्लिनिक र प्याथोलोजी ल्याबहरुको अनुगमन गर्दै आएको छ ।प्याथलोजी सेन्टर र क्लिनिकहरुले नागरिकको स्वास्थ्यसंग खेलवाड गरिरहेको र स्वास्थ्य संस्थाहरु विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा समितिले अनुगमनलाई तिब्रता दिएको हो ।

बुधबार अनुगमनका क्रममा अनुमति बेगर सँचालनमा रहेको भेटिएपछि एउटा क्लिनिक र दुई वटा ल्याबमा सिलबन्दी गरिएको हो ।
अनुगमनमा खटिएको टोलीले चित्रांश पोली हेल्थ क्लिनिक, उक्त क्लिनिककै प्याथोलोजी ल्याब र श्री गणेश डाइग्नोस्टिक सेन्टर स्वीकृति बेगर नै सन्चालनमा रहेको भेटेपछि सिलबन्दी गरेको समितिका सदस्य जयप्रकाश महतोले जानकारी दिए ।

तीन वटै स्वास्थ्य संस्था स्वीकृति बेगर संचालन हुनुका साथै प्याथोलोजी ल्याबहरुले म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको भेटिएको पनि महत्तोले बताए ।जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधीको रोहबरमा तीन वटै संस्थामा लाहाछाप लगाएर सिल गरिएको महत्तोेले जानकारी दिए ।

वीरगन्जमा सन्चालित प्याथोलोजी ल्याब र क्लिनिकहरुको गत साता देखि अनुगमन शुरु गरिएकोमा बुधबार देखि भने स्वीकृति नै नलिई सन्चालनमा रहेकालाई सिलबन्दी गर्न सुरु गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए ।

बुधबार अनुगमनका क्रममा तराई डाइग्नोस्टिक, शुभम क्लिनिक र वीरगन्ज डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर मापदण्ड विपरित संचालनमा रहेको भेटिएकाले उनीहरुलाई भने तत्काल बन्द गर्न र मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न चेतावनी दिइएको जयसवालले जानकारी दिए ।

यस अघि महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था संचालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले बुधबारदेखि भने कारबाही नै गर्न थालिएको जयसवालले बताए ।

समितिका सदस्य महत्तोका अनुसार , बुधबार वीर्तामा अनुगमन जाँदा अुगमनमा टोली आएको देखेर कतिपय क्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा औषधी पसलका सन्चालकहरु सटर नै बन्द गरेर फरार भएका थिए ।

बुधबार गरिएको अनुगमन टोलीमा समितिका सदस्य जयप्रकाश महतो, स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवाल, नर्सिङ् अधिकृत इन्दिरा लोहनी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी तथा संचारकर्मीको सहभागिता थियो ।

 

Related posts

सेवा प्रभावित भएपछि रिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल

MadhesKhabar

यसवर्षको एसईईमा पर्सा जिल्लाबाट साढे १२ हजार विद्यार्थी सहभागी हुदैं

MadhesKhabar

वीरगन्जलाई अशान्त बनाउन चाहनेहरुलाई अब तह लगाउन जरुरी छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment