Madhes Khabar
राष्ट्रिय

चुनावको मिति एक साता भित्रै घोषणा गर्ने सरकारको तयारी

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज, १३ साउन : सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोक्ने तयारी अघि बढाएको छ ।

निर्वाचन आयोगको परामर्श र सिफारिस लिइसकेको सरकारले एक साता भित्रै चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले चुनावको तयारी र मिति घोषणाबारे सत्ता साझेदार दलसँग परामर्श लिइरहेका छन् ।

निर्वाचन आयोगका पदाधिकारीले गत २२ असारमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन गर्न परामर्श दिएको थियो । तर, प्रधानमन्त्री देउवाले केही दिन तलमाथि गर्नुपर्ने आवश्यक रहेको भन्दै अर्को मिति प्रस्ताव गरेका थिए ।

 

त्यसपछि सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्ने प्रस्ताव गरेकोमा आयोगले सहमति र सिफारिस समेत दिइसकेको छ । तर, सरकारले चुनावको मिति घोषणा गर्न ढिला गरेको भन्दै प्रमुख प्रतिपक्षी दलसहित अन्य दलले चुनावको मिति माग गर्न थालिसकेका छन् । स्रोतका अनुसार सरकारले एक साताभित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

 

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति तोक्नेबारे छलफल भइरहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका अनुसार भने सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ ।

चुनावको मिति घोषणा र पूर्वतयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणलाई दौडधुप छ । बिहीबार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई भेटेर परामर्श गरेका मन्त्री खाणले शुक्रबार बिहानै अध्यक्ष दाहाललाई खुमलटारस्थित उनको निवासमै पुगेर भेटेका थिए । भेटमा चुनावको मिति र चुनावअघि नै गर्नुपर्ने कर्मचारी पदस्थापन र सरुवाका विषयमा समेत छलफल भएको स्रोतको भनाइ छ ।

 

निर्वाचन आयोगले भने १२० दिनको निर्वाचन अवधि कायम राखेर मिति घोषणा गर्नुपर्ने माग गर्दै आएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले मंसिर ४ मै निर्वाचनको मिति तोक्नेमा ढुक्क रहेको बताए । थपलियाले भने, ‘मन्त्रिपरिषद्को आउँदो बैठकले निर्वाचनको मिति तोक्छ भनेर आयोग विश्वस्त छ, हामीले त्यहीअनुसार तयारीका काम अघि बढाएका छौँ ।’

 

सरकारले आयोगको परामर्श भएजस्तो मंसिर ४ मै निर्वाचन गर्न नसके १० गतेसम्म सार्न सक्छ । तर, १० गतेभन्दा पछि धकेलेको अवस्थामा भने मौषमका कारण हिमाली क्षेत्रमा निर्वाचन गर्न असम्भव छ । आयोग र सरकारबीच समझदारी बनेको मंसिर ४ को मिति आउन अब ११४ दिनमात्रै बाँकी छ, जबकि आयोगले १२० दिन निर्वाचन अवधि मागिरहेको छ ।

Related posts

बारामा बहुमुल्य धातु युरेनियम सहित तीन जना पक्राउ

MadhesKhabar

बझाङमा आधा घण्टामा दुई पटक भुकम्प,क्षतिको विवरण भने आउन बाँकी

MadhesKhabar

कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुठाे

MadhesKhabar

Leave a Comment