Madhes Khabar
मधेस प्रदेश

राजनीतिक खिचातानी र बजेटको भागबण्डाले कालिकामाई गाउँपालिकाको गाउँसभा अझै अनिश्चित

मधेसखबर
वीरगन्ज,०२असार : पहिलेकाले राम्रो काम नगरेकाले नै होला जनताले यो पालि तिनलाइ विस्थापित गरि नयाँलाइ जनप्रतिनिधी चुने । त्यसमा पनि देशकै कान्छो मेयर पायो पर्साको कालिकामाइ गाँउपालिकाले । तर तीनै कान्छो मेयरको पालिकामा राजनीतिक खिचातानी अनि बजेटको भागबण्डाको विषयलाइ लिएर पालिकाको गाँउसभा अझै अनिश्चित बनेको छ ।

गत असार ३१ गते गाउँ सभा स्थगित भइसकेपछि कालिकामाई गाउँपालिकामा झडप नै भयो । उपाध्यक्ष जितेको नेपाली कांग्रेस र अध्यक्ष जितेको जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताबीच झडप हुँदा जसपा तर्फका कालिकामाई वडा नं ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेल सहित ५ जना घाइते भए ।कांग्रेसका पनि कृष्ण ठाकुर, अमरदेव चौरसिया, लाल किशोर साह, अजय साह लगायत घाइते भए ।

जसमध्ये ३ जना उपचार पछि घर फर्किसकेका छन् भने जसपाका मोहम्मद एकबाल मियाँ र कांग्रेसका ओम प्रकाश चौरसिया नारायणी अस्पतालमा उपचाररत रहेका छन् । तर दुवै पक्षबाट प्रहरीमा अहिले सम्म उजुरी भने परेको छैन ।

टोल टोलमा झडप हुँदा केही बाइक घर र पसलहरुमा समेत तोडफोड गरिएको स्थानीय बताउँछन् । कालिकामाई गाउँपालिका–५ बलुवाटोलमा किराना पसलमा तोडफोड गर्दै गर्दा प्रहरी टोली पुगेपछि कांग्रेस कार्यकर्ता भागेका थिए । ठाउँ ठाउँमा पानी तान्ने मोटर झिकेर फालिएको र कुनै दलमा आवद्ध नभएका सर्वसाधारणको घरमा समेत क्षति पु¥याइएको स्थानीयको भनाइ छ ।

२१ वर्षीय युवक बशिष्ट कुमार गाउँपालिका अध्यक्ष छन् । उनले आफ्नो कार्यकालको पहिलो गाउँसभाको अधिवेशन नै गर्न सकिरहेका छैनन् । असार १० गतेभित्र ल्याई असार मसान्तसम्म पास गरिसक्नुपर्ने बजेट, नीति तथा कार्यक्रम अझै पास हुन सकेको छैन ।

 

गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधि मिलेर धमाधम विकासका काम अघि बढाउनुपर्नेमा दलीय ध्रुवीकरणले तिक्तता बढेको छ । जसका कारण जनता पनि विभाजित छन् । फरक फरक दलको भएकै कारण छिमेकीहरुबीच नै एक आपसमा मनमुटाव बढीरहेको छ ।

 

बशिष्टले २४ असार शुक्रबार पहिलो पटक गाउँसभा आह्वान गरेका थिए । तर उनले प्रस्ताव गरेको योजनामा असहमति जनाउँदै उपाध्यक्ष राजमती बरैनी, वडा नं २ का अध्यक्ष सोनालाल चौरसिया र वडा नं ४ का अध्यक्ष सञ्जय साह लगायत कांग्रेस–एमालेका १५ जना गाउँ सभा सदस्यले वीरगञ्जमा पत्रकार सम्मेलन गरेर गाउँ सभा बाहिस्कार गर्ने चेतावनी दिएका थिए । नभन्दै उनीहरु गाउँसभामा गएनन् । जसपाका १४ जना मात्रै सहभागी हुँदा गणपुरक संख्या पुगेन । गाउँ सभा स्थगित भयो ।

 

असार ३१ गते पालिकाको आठौं गाउँसभाको दोस्रो बैठक आह्वान गरिएको थियो । अपरान्ह २ बजे नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरिहरपुरविर्तामा सबै अर्थात २९ जना सदस्यको उपस्थिति थियो । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, बजेट र गाउँपालिकाका लागि आवश्यक विभिन्न ऐनहरु प्रस्ताव गर्ने कार्यसूची रहेको थियो ।

 

छलफलका क्रममा जनप्रतिनिधिहरुबीच बैठकलाई एकदिन पर सारौं, मिलेर जाऔं भन्ने विषयमा मौखिक सहमति भयो । शनिबार बिहान ७ बजे अध्यक्ष, उपाध्यक्ष, ५ वटै वडाका वडा अध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत बसेर समस्या समाधान गर्ने र अपरान्ह ४ बजे गाउँसभा सम्पन्न गर्ने तय भएको थियो । तर त्यो दिन पनि गाउँ सभा बैठक स्थगित भयो । बैठक स्थलबाट बाहिरिएपछि जसपा र काँग्रेसका नेता कार्यकर्ताबीच ठाउँ ठाउँमा झडप भयो । परिणामतः गाउँसभा अधिवेशन अनिश्चित बनेको छ ।

 

कालिकामाईमा गाउँ सभा सञ्चालन कार्यविधि बनेको छैन । तर पहिलोपटक ५१ प्रतिशत सदस्य र दोस्रो पटक बोलाइएको बैठकमा ३३ प्रतिशतको उपस्थिति भए पुग्ने र उपस्थित संख्याको बहुमतले बजेट, नीति तथा कार्यक्रम पारित गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी बताउँछन् ।

 

जनप्रतिनिधिहरु आ–आफ्नै अडानमा

पाँच वर्ष सहकार्य गर्नुपर्ने भएकाले सहकार्य गरेर जाने मनस्थितिमा आफू रहेपनि राजश्व परामर्श समितिको बैठक समेत नबसाएर उपाध्यक्षले असहयोग गरेको र बजेटमा भागवण्डा गर्न खोजेको आरोप पालिका अध्यक्ष बशिष्टको छ ।

 

उपाध्यक्ष बरैनी भने अध्यक्ष एकलौटी ढंगले चल्न खोजेको आरोप लगाउँछिन् । अध्यक्षले आफूसँग सरसल्लाह नगर्ने र कमिसनका लागि खरिदमा बढी केन्द्रित भएर बजेट ल्याउन खोजेको गुनासो उनको छ ।

 

एमाले र कांग्रेसबाट जितेका वडा नं २ र ४ का वडा अध्यक्षलाई वडालाई दिइएको ३० लाख रुपैयाँको बजेट सिलिङमा चित्त बुझेको छैन । विगतमा वडालाई १ करोड ३० लाख चलाउन दिएकाले सोही अनुसार बजेट राखिनुपर्ने अडान उनीहरुको छ ।

 

वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढ सहमतिका लागि कुरा भइरहेको बताउँछन् । ‘शनिबार नै गाउँसभा हुने स्थिति थियो, लडाइँझगडा भएकाले विथोलियो,’ उनले भने ।

 

विकास प्रक्रियामा हुनुपर्ने आफूहरुको माग रहेको उनले बताए । ‘ अध्यक्ष मनोमानी ढंगले चल्नुभएन, गाउँका मानिसहरु सरसल्लाह विकासका योजना माग गर्नुप¥यो,’ उनले भने, ‘योजना छनौट गर्दा वडा अध्यक्षहरुसँग समन्वय गर्नुप¥यो । अध्यक्षले जे मन लाग्छ त्यो योजना राख्ने हो भने हामीले कसरी मान्ने ?’ जनताको सामु विकास गर्ने वाचा गरेर आएको बताउँदै उनले छलफल गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

 

प्रमुख प्रशासकीय अधिकृत गिरी जनप्रतिनिधि अन्य व्यक्तिहरुबाट परिचालित हुँदा गाउँपालिकामा समस्या देखिएको बताउँछन् । जनप्रतिनिधिलाई मात्रै एक ठाउँमा बसाएर आपसी छलफलको वातावरण तयार गरी समस्या समाधानका लागि आफू प्रयासरत रहेको उनको दावी छ ।

 

‘जनताले सबै जनप्रतिनिधिलाई कालिकामाईको विकासका लागि मत दिएका हुन्, जनप्रतिनिधिले आपसमा समन्वय र सहकार्य गर्नुपर्छ,’ उनले भने, ‘आपसमा तालमेल नहुँदा पालिकाको विकासमा असर पर्छ ।’ पाँच वर्षसँगै काम गर्नुपर्ने जनप्रतिनिधिहरु द्वन्द्वमा अल्झिंदा पालिकाको बारेमा पालिका बाहिर समेत राम्रो सन्देश नजाने उनको तर्क छ । साभार : अनलाइनखबर

Related posts

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद, जीवितै उद्धार गरिएकी बालिकाको मृत्यु

MadhesKhabar

मधेसमा मिटरव्याजी विरुद्ध १८ हजार भन्दा बढी उजुरी, पर्सामा १३ सय २१

MadhesKhabar

कश्मीरमा बन्धक बनाइएका मधेसका ३५ मजदुरको उद्धार

MadhesKhabar

Leave a Comment