Madhes Khabar
मधेस प्रदेश हेडलाइन

कश्मीरमा बन्धक बनाइएका मधेसका ३५ मजदुरको उद्धार

काठमाडौं,२जेष्ठ:नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका मधेसका ३५ जनाको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट राम्रो आम्दानीको प्रलोभन दिई दलालले उनीहरूलाई कश्मीर पुर्‍याएका थिए ।

तर, कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट, डर धम्की देखाएर काममा लगाउँदै आएको थियो । दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छ ।

उद्धार गरिएका धनुषाका ३८ वर्षीय रञ्जित चौधरी आफूहरूसँग अमानवीय व्यवहार गरिएको बताउँछन् । ‘दैनिक ११ सय नेपाली रुपैयाँ पाउने भनेपछि यता आइयो, जम्मूमा नाला निर्माणको काममा मजदुरी गर्ने भनिएकोमा त्यहाँ नलगेर कश्मीरको श्रीनगर पुर्‍याइयो,’ उनले सुनाए ‘ठेकेदारले हामीसँग भएका सबै सामान खोसेर तीन महिनादेखि बन्धक बनाएर काम गराउँदै आएको थियो । पैसा त दिएन, दिएन सधैं कुटपिट र धम्की दिँदै आयो ।’

केही अगाडि मुश्किलले भाग्न सफल भएका दुई जना गाउँ पुगेपछि धेरै मजदुरहरू बन्धक बनाइएको कुरा सर्लाहीका सामाजिक कार्यकर्ता सरोज रायले थाह पाएका थिए । उद्धार कार्यमा जुटेका रायले त्यसपछि आफूले परराष्ट्र मन्त्रालय, दूतावास र ‘किन इन्डिया’लाई यस विषयमा सूचना दिएको बताए । उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३, सर्लाहीका ९ र बाँकी धनुषाका छन् । त्यसमा ६ जना नाबालसमेत छन् ।

उद्धारका लागि कश्मीर पुगेका ‘किन इन्डिया’का प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर ल्याएको देखिएको बताए । सुश्रमै ७ हजारको दरले पेश्की नै दिएर विश्वासको वातावरण बनाएको देखिन आएको उनले जानकारी दिए । तर, पछि कश्मीर पुर्‍याएर बन्धक बनाएर काम लिएको पाइएको उनले बताए ।

दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले उद्धार कार्यका लागि कश्मीर प्रहरीको सहयोग पाइएको र दोषीहरूलाई पक्राउ गरेर उनीहरूमाथि कानुनी कारबाहीका लागि समन्वय भइरहेको बताए । ‘पीडितहरू रहेको स्थान पहिचान गर्न र उनीहरूलाई बाहिर निकाल्न स्थानीय प्रहरीको राम्रो सहयोग रह्यो,’ उनले भने ‘किन इन्डिया र सामाजिक व्यक्ति सरोज रायको सक्रियताले उद्धार कार्यमा सफलता हात लागेको छ ।’ साभार:कान्तिपुर

Related posts

बसले अटाेलाई ठक्कर दिदाँ ४ जनाकाे घटनास्थलमै मृत्यु

MadhesKhabar

पर्सा–१ मा वडाध्यक्ष र पूर्व वडाध्यक्षसहितका जसपा नेताहरु एमालेमा प्रवेश,पूर्वमन्त्री यादवले गरे स्वागत

MadhesKhabar

आरती साहका पति माेतीबाबु पक्राउ

MadhesKhabar

Leave a Comment