Madhes Khabar
राजनीति हेडलाइन

जसपा नेपालको चुनावी घोषणापत्र सार्वजनिक


वीरगंज १,फागुन : प्रतिनिधि सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज शुक्रबार काठमाडौंँमा एक कार्यक्रम आयोजना गरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

जसपा नेपालले ‘संघर्षसँगै समृद्धि’ भन्ने नारा दिँदै न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमा पनि जोड दिएको छ । घोषणापत्रमा भनिएको छ, ‘जसपा नेपाल यो घोषणापत्रमार्फत यस्तो राज्य मोडल चाहन्छ–जहाँ राज्यको उद्देश्य नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो । प्रस्तावित कार्यक्रमहरूको कार्यान्वयनमार्फत लोक कल्याणकारी राज्यको स्थापना गर्दै समतामूलक समाजको निर्माण र समानतामा आधारित समावेशी समाजवादी लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्ने मूल लक्ष्य जसपा नेपालले राखेको छ ।’

घोषणपत्र मार्फत समावेशी लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्ने जसपा नेपालले जनाएको छ । जसपा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि निःशुल्क (फ्रि भिसा र फ्रि टिकट) रोजगारी प्रदान गर्ने नीति अघि सारेको छ । वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सुरक्षित रोजगारीको व्यवस्था गरिने, बैदेशिक रोजगारीमा गएका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिने पनि जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूको लागि वैदेशिक रोजगारमा हुँदा सिकेको सीपको आधारमा स्वदेशमै रोजगारीको प्रवन्ध गरिने नीति पनि समेटेको छ । घोषणापत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारी रहर नभई बाध्यता हो । तसर्थ आन्तरिक रोजगारी प्रवद्र्धन गर्नु राज्यको मूल दायित्व हो भन्ने जसपा, नेपालको मान्यता रहँदै आएको छ । आन्तरिक रोजगारीको प्रत्याभूति नहुञ्जेलसम्म वैदेशिक रोजगारीमा जाने नागरिकहरूको लागि सीप विकास, प्रशिक्षण तथा रोजगारीमा जाँदा आवश्यक पर्ने लागत खर्चको उचित व्यवस्थापन रोजगारदाताबाट ग्यारेन्टी गरिनु पर्दछ ।’

विदेशबाट प्राप्त रेमिट्यान्स रकम पनि औपचारिक बैंकिङ्ग प्रणालीबाट भित्र्याउनु पर्ने भन्दै प्राप्त रेमिट्यान्स रकममध्येबाट महत्वपूर्ण अंश श्रमिकको विकास तथा संरक्षणमा खर्च गरिनु पर्ने जनाएको छ ।

Related posts

पर्सा ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने युवा विधार्थीहरुको घोषणा

MadhesKhabar

रास्वपा बैठक : उपनिर्वाचनमा गठबन्धन नगर्ने, बारा–२ मा पनि उम्मेदवारी दिने

MadhesKhabar

वीरगन्ज भन्सारबाट श्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment