वीरगन्ज,११ माघ:जनकपुरमा नेकपा (एमाले) मधेस प्रदेश कमिटीको आयोजनामा प्रदेशभरिबाट पार्टीका तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
परिचयात्मक कार्यक्रममा मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट नेकपा एमालेका तर्फबाट चुनाव लडेका उम्मेदवारहरूको सहभागिता थियो ।
त्यस अवसरमा पर्सा जिल्लाबाट निर्वाचन क्षेत्र नम्बर–१ का प्रदीप यादव, क्षेत्र नम्बर–२ की रिमा कुमार यादव तथा क्षेत्र नम्बर–३ का रुपेश पाण्डेय सहभागी भएका थिए ।
कार्यक्रममा पर्साका उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रको वस्तुगत अवस्था, स्थानीय समस्या तथा चुनावी रणनीतिबारे जानकारी गराएका थिए ।
परिचयात्मक कार्यक्रममा एमाले मधेस प्रदेशका इन्चार्ज एवम् सिराहा निर्वाचन क्षेत्रका उम्मेदवारसमेत रहेका नेता लीलानाथ श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्यहरू प्रभु हजरा, विजय कुमार सरावगी, निर्मला देवकोटा, मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष विचार प्रसाद यादव, सचिव मनोज पौडेललगायतको उपस्थिति रहेको थियो ।

