
मधेसखबर
वीरगन्ज ,२० साउन : सरकारले संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेसंगै पर्सा र बारामा उम्मेदवारी घोषणा गर्नेहरुको होडबाजी नै चलेको छ ।राजनीतिक दलका नेता र स्वतन्त्रबाट युवाहरुले सामाजिक सन्जाल फेसबुक मार्फत प्रतिनिधीसभा र प्रदेशसभा सदस्य (सांसद) को उम्मेदवारी घोषणा गर्नेहरुको होडबाजी चलेको हो ।
सामाजिक सन्जाल फेसबुकमा कतिपयले आफै उम्मेदवारी घोषणा गरेका छन् भने कतिपयका शुभचिन्तक र कार्यकर्ताले आफना नेता उम्मेदवार बन्ने घोषणा सहितको पोष्ट गरिरहने क्रम निरन्तर जारी छ ।
पर्सा जिल्लामा त एउटै निर्वाचन क्षेत्रमा एउटै पार्टीका चार जना सम्मले उम्मेदवारी दिने घोषणा गरेको पोष्ट फेसबुकमा देख्न सकिन्छ । संघीय सांसद भन्दा प्रदेश सांसदमा उम्मेदवारी घोषणा गर्नेहरुको संख्या बढि देखिएको छ ।
अहिले सम्म पर्सा र बारामा गरि संघ र प्रदेश सांसदका लागि डेढ दर्जन भन्दा बढिले उम्मेदवार बन्ने घोषणा फेसबुुकबाट गरिसकेका छन् ।
अहिले सम्म पर्साको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ को ख मा प्रदेश सांसदका लागि उम्मेदवारी दिनेको संख्या सम्म सबै भन्दा बढि देखिएको छ । उक्त क्षेत्रबाट जसपाका युवा नेताहरु लखन गुप्ता , मुकेश द्धिवेदी , निरन्जन मिश्रा तथा स्वतन्त्रबाट राजेश सिंह र मदन मनिष पटेलको उम्मेदवारी पर्ने घोषणा फेसबुकबाट गरिएको छ ।
पर्साको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रदेश सांसदका लागि नेपाली काँग्रेसबाट अहिलेका प्रदेश सांसद राजेश्वर साह तेली , काँग्रेसबाटै बहुदरमाइ नगरपालिकाका पुर्व मेयर नितेन्द्र साहले उम्मेदवारी दिने पोष्ट उनका समर्थकहरुको फेसबुक पेजमा देख्न सकिन्छ ।
यस्तै मुख्यमन्त्री लालबाबु राउतले निर्वाचन जितेको पर्साको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट लोसपाका वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफ , पर्साको निर्वाचन क्षेत्र नम्बर १ को क बाट नेपाली काँग्रेसका युवा नेता सुधिर पटेलले उम्मेदवारी दिने घोषणा उनिहरुका समर्थकले फेसबुकबाट गरिसकेका छन् ।
पर्साको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट प्रदेश सांसदमा काँग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले उम्मेदवारी दिने घोषणा उनका कार्यकर्ताले गरेका छन् ।
यसैगरि पर्साको संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय सांसदमा काँग्रेसका पुर्व जिल्ला सभापति अजय द्धिवेदी , क्षेत्र नम्बर २ मा काँग्रेस केन्द्रिय सदस्य अजय चौरसीया र पूर्व जिल्ला सभापति राजेन्द्र बहादुर अमात्य , क्षेत्र नम्बर ३ मा काँग्रेसका पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी , नेकपा एमालेबाट संविधानसभा सदस्य राज कुमार गुप्ता र प्रमोद जयसवाल तथा क्षेत्र नम्बर ४ मा काँग्रेस केन्द्रिय सदस्य रमेश रिजालले उम्मेदवारी दिने घोषणा उनका कार्यकर्ताहरुले फेसबुकमा जोडतोडले गरिरहेका छन् ।
उता बारा जिल्लामा पनि संघ र प्रदेश सांसदका लागि उम्मेदवारी दिने घोषणा फेसबुक मार्फत धमाधम भइरहेको छ ।
बाराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट प्रदेश सांसदका लागि नेपाली काँग्रेसबाट नेपाल तरुण दलका जिल्ला अध्यक्ष लोकेश सिंह र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को ख बाट प्रदेश सांसदमै काँग्रेसका जिल्ला सचिव राजेश रौनीयारले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सरकारले मंसिर ४ मा निर्वाचन गर्ने निर्णय गरिसकेको भएपनि निर्वाचन आयोगले भने अहिले सम्म निर्वाचन कार्यकतालिका सार्वजनिक गरेको छैन । जसका कारण उम्मेदवारी दर्ताको दिन अहिले सम्म यनिक भइसकेको छैन । तर चुनावको मिति घोषणा गरिएसंगै फेसबुकबाट उम्मेदवारी दिनेहरुको लर्को लागेको छ । राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिने घोषणा गरेकाहरुलाइ नै उनिहरुको दलले टिकट दिन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन ।
यो अवस्थामा आफु खुशी र आफना समर्थक मार्फत फेसबुकमा उम्मेदवारी दिने घोषणाको होडबाजी देखेर सर्वसाधरण जनताले फेसबुकमै व्यङगात्मक टिप्पणी गरिररहेका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त उम्मेदवारी दिनेहरुको घोषणा प्रति व्यङग्य गर्दै आफनो फेसबुक पेजमा लेखेका छन् – निर्वाचन आयोगले उम्मेदवारी दर्ता चाहि आज भोलि मै टुङग्याउने व्यवस्था गरे हुन्थ्यो । यता फेसबुक तिर एउटै निर्वाचन क्षेत्रमा एउटै पार्टीको ४/४ सम्मले उम्मेदवारी दिन भ्याइ सके ।
कतिपय फेसबुक प्रयोगकर्ताले भने वडा सददस्यमा चुनाव लड्दा जमानत समेत जोगाउन नसक्ने हैसियत भएकाहरुले पनि अहिले प्रदेश सांसद र संघीय सांसदमा उम्मेदवारी दिने होडबाजी गरिरहेको व्यङग्य गर्दै टिप्पणी पनि गरेका छन् ।

