वीरगन्ज, ३१ वैशाख : वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुुख किशोरी रायलाई एक समुहले लछारपछार गर्दै कालोमोसो दलेका छन् । बिहीबार बिहान क्याम्पस परिसरभित्रै पाँच छ जनाको संख्यामा रहेको एक समुहले क्याम्पस प्रमुख रायसंग दुव्र्यवहार गर्दै कालोमोसो दलेका हुन् ।
सामुदायिक क्याम्पस हरिखेतानलाई सञ्चालक समितिले हस्तक्षेप गरेर निजीकरण गर्न खोजेको भन्दै विगत एकवर्षदेखि पटक पटक विवाद हुदैं आएको छ ।
पछिल्लो समय पुन नियुक्त गरिएका क्याम्पस प्रमुख राय र सञ्चालक समितिको मिलोमतोमा करारमा अध्यापनरत चार जना शिक्षकहरुलाई सेवाबाट निष्काशन गर्ने निर्णय गरिएपछि विवाद झनै चर्किएको थियो ।
क्याम्पस प्रशासनले यहि वैशाख २१ गतेदेखि लागू हुने गरी शिक्षकहरु लालकिशोर प्रसाद पटेल, रविन्द्र कुमार यादव, पूजा गुप्ता र दिलिप कुमार पण्डितको करार सेवा अन्त्य गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै शिक्षक र कर्मचारीहरुले क्याम्पसमा ताल्चा लगाउनुका साथै धर्ना दिदैं आएका थिए । क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि नमानेपछि विवाद बढ्दै गएकोमा बिहीबार उनीमाथि कालोमोसो दलिएको हो ।
क्याम्पस प्रमुख रायलाई कालोमोसो दलेर दुव्र्यवहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा क्याम्पसकै दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याmलय पर्साका सुचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

