वीरगन्ज,७माघ:वीरगन्ज महानथरपालिकाका मेयर राजेशमान सिंहले रामजानकी मन्दिरमा साेमबार हुने प्राण प्रतिष्ठामा सहभागी हुन महानगरवासीलाई आह्वान गरेका छन्।
भारत अयाेध्याकाे नविनिर्मित राम मन्दिरकाे उद्घाटनकै दिन साेमबार वीरगन्ज १० घडिअर्वास्थित रामजानकी मन्दिरमापनि भगवान राम, माता सीता र हनुमानकाे मूर्ति स्थापना र प्राण प्रतिष्ठा हुदैंछ।

मेयर सिंहले सामाजिक सञ्जाल मार्फत आह्वान गर्दै उक्त प्राण प्रतिष्ठा समाराेहमा सहभागी हुन महानगरवासीलाई अनुराेध गरेका हुन्।
रामजानकी मन्दिरकाे प्राण प्रतिष्ठाका दिन साेमबार बिहान ८ बजे कलश यात्रा निकालिने भएकाे छ भने साँझ ६ बजे मन्दिर प्राङ्गणमै महाआरतीपनि हुनेछ।महाआरतीपश्चात प्रसाद वितरण पनि हुनेछ।

साेमबार हुने कलश यात्रा, प्राण प्रतिष्ठाकाे पूजापाठ , महाआरती, प्रसाद वितरण लगायतका सम्पूर्ण विधीमा सहभागी हुन मेयर सिंहले आह्वान गरेका हुन् ।
विगत चार दशकसम्म अतिक्रमणमा पारिएको रामजानकी मन्दिर वीरगन्ज महानगरपालिकाले अहिले अतिक्रमण मुक्त बनाई साैन्दर्यकरण गरेकाे छ।
भारत अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन र प्राण प्रतिष्ठा हुने जनवरी २२ तारिख अर्थात माघ ८ गतेकै अवसर पारेर घडिअर्वाकाे रामजानकी मन्दिरमापनि भगवान राम, माता सीता र हनुमानकाे मुर्तिकाे प्राण प्रतिष्ठा गर्न लागिएको हाे ।
त्यसका लागि मन्दिर प्राङ्गण, त्यस आसपासका क्षेत्रसहित वीरगन्ज शहरलाई नै झिलिमिली बत्तीले सजाएर आकर्षक बनाइएको छ।शहरका ठाँउठाँउमा भगवा झण्डा राखेर सजाइएकाे छ ।
साथै माघ ८ गते साेमबार वीरगन्ज महानगरपालिकाले वीरगन्ज महानगरभरि नै माछा,मासु र मदिराकाे बिक्रीवितरण निषेध गरिएको छ।

