वीरगन्ज,२८जेठःपर्सा जिल्लाको प्रमुख धार्मिक एंव पर्यटकीयस्थल भाथा धाममा रहेको दुग्धेश्वर महादेव मन्दिरको स्तरोन्नत्तीका लागि मधेस प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँ रकम फ्रिज हुने अवस्थामा पुगेको छ ।
मधेस प्रदेशको पर्यटन मन्त्रालयले पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ मा पर्ने भाथा धाममा रहेको दुग्धेश्वर महादेव मन्दिरको स्तरोन्नत्तीका लागि चालु आर्थिक वर्ष २०८१\०८२ को बजेटमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम मन्त्रालयले वीरगन्जस्थित पर्यटन विकास कार्यालयमा निकासा गरिसकेको छ । तर चालु आर्थिक वर्ष सकिन अब १ महिनामात्रै बाँकी रहदाँ समेत भाथा धाम स्तरोन्नत्तीको काम सुरु नै हुन सकेको छैन ।
जसका कारण अब बाँकी रहेको एक महिनामा काम सुरु गरेर सक्ने सम्भावना क्षीण हुदैं गएकाले प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रकम फ्रिज हुन सक्ने अवस्थामा पुगेको छ ।
मधेस प्रदेशको पर्यटन मन्त्रालयले भाथा धामको दुग्धेश्वर महादेव मन्दिरमा भ¥याङ (सिंढी), रेलिङ, प्रतिक्षलय लगायतका संरचना निर्माण तथा स्तरोन्नत्तीका लागि ५० लाख रुपैयाँ पर्यटन विकास कार्यालय वीरगन्जमा पठाएको हो । उक्त बजेट आएको ६ महिना बितिसकेको र अहिले चालु आर्थिक वर्ष सकिन १ महिनामात्रै समय रहदाँ समेत काम सुरु नै नभएको पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले बताए । जसका कारण अब उक्त बजेट फ्रिज हुने अवस्थामा पुगेको उनले बताए ।
पर्यटन विकास कार्यालय वीरगन्जकी प्रमुख बबीता जयसवालको लापरवाहीका कारण उक्त बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप गाँउपालिका अध्यक्ष चौधरीको छ । चौधरीले भने,‘ मन्त्रालयबाट बजेट निकासा भएर आएको ६ महिना भइसक्यो । अब आर्थिक वर्षपनि सकिन १ महिना मात्र बाँकी छ । तर कार्यालय प्रमुखले यो त्यो बहाना बनाएर अहिलेसम्म काम सुरु नै गर्नु भएको छैन ।’
प्रदेश सरकारका एक मन्त्रीको अनुचित दबाबमा परेर कार्यालय प्रमुखले भाथा धाम स्तरोन्नत्तीको काम सुरु गर्न चासो नदेखाएको आरोप अध्यक्ष चौधरीले लगाए ।
यता पर्यटन विकास कार्यालय वीरगन्जकी प्रमुख बबीता जयसवालले भने भाथाधाम र मन्दिर राष्ट्रिय निकुञ्जभित्र रहेकाले निकुञ्जले अनुमति नदिएका कारण काम सुरु गर्न नसकिएको मधेसखबरलाई बताइन् । भाथा धाममा रहेको दुग्धेश्वर महादेव मन्दिरको स्तरोन्नत्तीको काम सुरु गर्नका लागि सबैैभन्दा पहिले निकुञ्ज प्रशासनबाट अनुमति लिनुपर्ने अनिवार्य भएको भन्दै मधेसखबरसंग उनले भनिन्,‘हामीले पहिला निकुञ्ज प्रशासनसंग अनुमितका लागि पत्रचार गर्यौ । तर उसले वन्यजन्तु आरक्षण विभागबाट अनुमति माग्नुस भनेर जवाफ दियो ।’
त्यसपछि तीन चार दिन पहिलेमात्रै पर्यटन विकास कार्यालय वीरगन्जले अनुमतिका लागि वन्यजन्तु आरक्षण विभागमा पत्रचार गरेको र अहिलेसम्म त्यहाँबाट कुनै जवाफ नआएको उनले बताइन् । उनले भनिन्,‘ हाम्रो हातमा छैन । विभागबाट अनुमति पाएपछि मात्र काम सुरु गर्ने प्रकृया अगाडि बढ्छ ।होइन भने अब आर्थिक वर्षपनि सकिन लाग्यो । ढिला भयो भने रकम फ्रिजपनि हुनसक्छ ।’
तर पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष चौधरीले भने निकुञ्ज वा विभागबाट अनुमति हुनुपर्ने कार्यालय प्रमुख जयसवालको भनाई बहाना मात्रै भएको जिकिर गरे । मधेसखबरसंग उनले भने,‘ सुरुमा कार्यालय प्रमुखले मन्त्री र आफ्ना निकटका ठेकेदारलाई त्यो काम दिने चलखेल गरेकी थिइन् । त्यसबेला भाथा मेला व्यवस्थापन समिति र हामीले त्यसको विरोध गर्यौ । त्यसपछि उनले निकुञ्ज र विभागले अनुमति दिएन भन्दै बहाना बनाउँदै आएकी छन् ।’

