
क्रान्ति शाह
वीरगन्ज, १८ बैशाख : पर्साका काँग्रेस संस्थापन इतर पक्षका नेताहरुले वीरगन्ज महानगरमा गठबन्धन र काँग्रेसका उम्मेदवार पराजित भए त्यसको जिम्मा काँग्रेस पर्साको नेतृत्वले लिनु पर्ने बताएको छ ।
वीरगन्ज महानगरको मेयर र उपमेयर पदमा मात्र काँग्रेस र जनता समाजवादी पार्टी ( जसपा) ले चुनावी तालमेल गरेका छन् । मेयरमा जसपाका उम्मेदवार राजेशमान सिंह छन् भने उपमेयरमा काँग्रेसका उम्मेदवार इम्तियाज आलम छन् । महानगरका ३२ वटै वडामा भने दुवै दलले आ आफना उम्मेदवार उठाएका छन् ।
तर जिल्लाका काँग्रेस संस्थापन इतरका नेताहरु भने महानगरको मेयर र उपमेयरमा जसपासंग गरिएको गठबन्धनको निर्णयसंग सन्तुष्ट देखिएका छैनन् । जसका कारण चुनावी परिणाममा प्रतिकुल असर पर्ने सम्भावना देखिएको छ ।
शुक्रबार देखि मेयर र उपमेयरलाइ एकैसाथ लिएर दुवै दलका जिल्ला स्तरका नेताहरुले चुनावी घरदैलो शुरु गरेपनि त्यसमा काँग्रेसका संस्थापन इतर पक्षका नेताहरुको सहभागीता भने देखिएको छैन ।
गठबन्धनको संयुक्त घरदैलो र बैठकमा काँग्रेसबाट जिल्ला सभापति जनार्दन सिंहक्षेत्री ,उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक गुप्ता लगायत संस्थापन पक्षका मात्रै नेताहरुको सहभागीता देखिदै आएको छ ।तर संस्थापन इतर पक्ष ( कोइराला पक्ष) का नेताहरु अजय द्धिवेदी , राजेन्द्र बहादुर अमात्य , श्याम पटेल लगायतका नेताहरुको भने सहभागीता अहिले सम्म देखिएको छैन ।
संस्थापन इतर पक्ष ( कोइराला पक्ष) का नेताहरुले महानगरको चुनावी अभियानमा काँग्रेस संस्थापन पक्ष (देउवा पक्ष) ले आफुहरुलाइ पुरै बाइपास (बेवास्ता) गरेर हिडेको भन्दै सार्वजनिक कार्यक्रममै असन्तुष्टि पोखी रहेका छन् ।
संस्थापन इतर पक्षका नेता एंव काँग्रेस पर्साका प्रत्याशी श्याम पटेलले जिल्ला नेतृत्वको यहि रवैया रहे महानगरमा गठबन्धनको चुनावी परिणाम अपेक्षाकृत नहुन पनि सक्ने र त्यसको सबै जिम्मा काँग्रेस जिल्ला नेतृत्वले लिनु पर्ने बताए ।
पार्टीको निर्णय अनुसार आफुहरु गठबन्धनकै पक्षमा रहेको भएपनि महानगरको चुनावी अभियानमा आफुहरुलाइ संस्थापन पक्षले बेवास्ता गर्दै हिडेको पटेलले बताए ।
आइतबार बिहान मधेसखबरसंग कुरा गर्दै पटेलले भने ,‘ हामी पनि चाहन्छौ महानगरको मेयर र उपमेयर दुवै पदमा गठबन्धनकै उम्मेदवारले जित्नु पर्छ , त्यसका लागि हामीले आफनो काम गरिरहेका छौ तर जिल्ला नेतृत्वले हामीलाइ पुरै बाइपास गरेर हिडेको छ ।
पाच दलीय चुनावी संयन्त्रको बैठकमा समेत आफुहरुलाइ नबोलाउने गरेको , संयुक्त चुनावी घरदैलो कार्यक्रमका बारेमा कुनै खबर नगरेको , आफु आफै बसेर निर्णय गर्दै हिडेको पटेलले आरोप लगाए ।
महानगरको चुनावी अभियानको नेतृत्व काँग्रेस नगरसभापतिले लिनु पर्नेमा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री आफैले नेतृत्व लिनु आश्चर्यजनक भएको पटेलले बताए ।
जिल्ला नेतृत्वको यस्तै रवैया रहेमा महानगरको चुनावी परिमाण प्रतिकुल पनि आउन सक्ने भन्दै पटेलले भने ,‘ म भगवान पशुपतिनाथसंग प्रार्थना गर्छु कि समय छदै हाम्रा नेताहरुको सद्धबुद्धि आवोस , सबैलाइ समेटेर अगाडि बढुन् , होइन भने केहि भन्न सकिन्न ।
पटेलले उपमेयरका काँग्रेस उम्मदवार इम्तियाज आलमलाइ जिताउन शनिवार आफुहरुले विभिन्न वडामा चुनावी घरदैलो कार्यक्रम गरेको जनाकारी पनि गराए ।
यता संस्थापन पक्षका नेता एंव काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीलले भने जिल्ला नेतृत्वले सबैलाइ साथमा लिएर हिडेको बताए ।
उनले भने ,‘ गठबन्धनका उम्मेदवारलाइ जिताउन काँग्रेस एकजुट छ , काँग्रेसमा कुनै विवाद छैन ।
कुर्मीले जिल्ला सभापति क्षेत्री आफैले अजय द्धिवेदी , राजेन्द्र बहादुर अमात्य लगायतका नेताहरु कुरा गरेको र उहाहरु सबै साथमै रहेको बताए ।
कुर्मीले भने,‘ काँग्रेसलाइ जिताउन विपक्षीको त हात जोडिन्छ आफनै साथीहरुलाइ संगै लिएर जान झन के को आपत्ति ? ।
काँग्रेस भित्र कुनै मनमुटाव नरहेको जिकिर उनले गरे ।

