
काठमाडौं,६मंसिरःजनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारी र संघर्ष कार्यक्रमहरु सँगसँगै गर्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र संघर्षका कार्यक्रमहरु एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
जसपा नेपालले मंसिर १० गते सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम र कोणसभा गर्ने बस्नेतले जानकारी दिए।
त्यसैगरी मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि आफ्ना मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिने तथा मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिने बस्नेतले बताए ।
जसपा नेपालले प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभाको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते नेपालगन्ज र भैरहवामा कार्यक्रम तय गरिएको छ ।
पार्टीले विगतदेखि नै उठाउँदै आएको माग र मुद्दाहरु पुरा गराउन सरकार सकारात्मक नदेखिएकोले सडक सङ्घर्षमा जानुपरेको बस्नेतको भनाइ छ।साभारःसेतोपाटी

