वीरगन्ज ,९ वैशाख । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दै छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गरिने एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । यी कार्यक्रमहरु दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा हुने छन् । यसैगरी नेकपा माओवादी केन्द्रले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्धको नेतृत्व गर्दै पटक–पटक सरकारको नेतृत्व समेत गरेपनि जनअपेक्षा अनुसारका काम हुन नसकेको गुनासो व्याप्त रहेको छ । २०७४ सालमा नेकपा एमाले र माओवादी मिलेर चुनाव लड्नुका साथै लगत्तै पार्टी एकतासमेत भएको थियो । स्थापनाको सात दशकको इतिहासमा कम्युनिष्ट पार्टीहरु टुटफुट र विभाजनबाट गुज्रिंदै आएका छन् ।

