काठमाडौ,८वैशाख:अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ र प्रशोधन शुल्कमा भएको वृद्धिका कारण नेपाल आयल निगमले एक महिनामै ६ पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । ६ पटक गरेर निगमले पेट्रोल ६२ रुपैयाँ, डिजेल र मट्टीतेल समान ९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन १३५ रुपैयाँ प्रतिलिटर बढाएको छ । त्यस्तै, बाह्य हवाई इन्धन ८१९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास सय रुपैयाँ प्रतिसिलिन्डर वृद्धि गरेको छ ।
पश्चिम एसियामा युद्ध सुरु भएयता नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको भाउ बढाइरहेको छ । १ चैत, ११ चैत, १७ चैत, १९ चैत, २६ चैत र २ वैशाखमा निगमले मूल्य बढाएको हो । १ चैतअघि पेट्रोल १५७ र डिजेल तथा मट्टीतेल १४२ रुपैयाँ थियो । अन्तिमपटक २ वैशाखमा भएको मूल्यवृद्धिपछि पेट्रोल २१९ र डिजेल तथा मट्टीतेल २३७ रुपैयाँ प्रतिलिटर छ । त्यस्तै, १२७ रुपैयाँ प्रतिलिटर रहेको आन्तरिक हवाई इन्धनको भाउ बढेर अहिले २६२ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाले प्रयोग गर्ने इन्धनको भाउ प्रतिकिलोलिटर ९६६ डलरबाट एक हजार ७१६ डलर पुगेको छ । त्यस्तै, खाना पकाउने ग्यास एक हजार ९१० रुपैयाँबाट बढेर दुई हजार १० रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारमा बढेको भाउअनुसार नेपालमा समायोजन भइरहेको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा उच्च दरले भाउ बढेको छ, त्यसैले नेपालमा असर पर्ने नै भयो,’ उनले भने । खरिद मूल्यअनुसार अझै पनि नेपालमा मूल्य समायोजन नभएकाले पाक्षिक रूपमा पाँच अर्ब ७५ करोड घाटा रहेको निगमको प्रक्षेपण छ ।साभार:नयाँपत्रिका

