Madhes Khabar
समाचार

पत्रकारिताका नाममा अभद्र हर्कत गर्नेहरुलाई कारबाही गर्ने पत्रकार महासंघ पर्साको चेतावनी

वीरगन्ज,६ वैशाख : नेपाल पत्रकार महासंघ पर्साले पत्रकार आचार संहिताको उल्लंघन गर्ने पत्रकार र सञ्चारगृह (मिडिया हाउस) लाई कारबाहीको चेतावनी दिएको छ ।
आइतबार पत्रकार महासंघ पर्सा शाखाले एक प्रेस विज्ञप्ति नै जारी गरेर पत्रकार आचार संहिता उल्लंघन गर्ने पत्रकार र सञ्चारगृह (मिडिया हाउस) लाई कारबाहीको चेतावनी दिएको हो ।

पर्सा जिल्लाबाट प्रकाशित तथा प्रसारित केही सञ्चारमाध्यम र केहि पत्रकारहरूले समाचार सम्प्रेषणका क्रममा लगातार रूपमा पत्रकार आचारसंहिताका आधारभूत मान्यतालाई समेत बेवास्ता गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ पर्साले जनाएको छ ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल (फेसबुक, युट्युब) मार्फत सञ्चालित केही माध्यमहरूले सामाजिक सद्भाव, जबरजस्ती करणी, व्यक्तिको गोपनीयतालगायतका अतिसंवेदनशील विषयका समाचार सम्प्रेषण गर्दा गैरजिम्मेवार रूपमा प्रस्तुत भई आचारसंहिताको गम्भीर उल्लंघन गरेको पाइएको महासंघको भनाई छ ।

समाचार संकलन तथा प्रसारणका क्रममा न्यूनतम शिष्टता र सीमालाई समेत ख्याल नगरी अभद्र हर्कतमा उत्रिएको पाइएको भन्दै महासंघले सञ्चारकर्मका नाममा भइरहेका यस्ता गतिविधिबाट समग्र सञ्चारक्षेत्रमाथि प्रश्न उठिरहेको जनाएको छ ।

यसबारेमा महासंघका पदाधिकारीले ती संस्था र व्यक्तिहरूलाई यसअघि समेत पटकपटक ध्यानाकर्षण गराउँदापनि अटेर गरिएको भन्दै महासंघ पर्साले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।

पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न अपिल गर्दै महासंघले आचारसंहिताविपरीत समाचार सम्प्रेषण गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्ष स्वयंले वहन गर्नुपर्ने बताएको छ ।समाचार संकलन तथा प्रसारण गर्दा पुनः आचारसंहिता उल्लंघन भएको पाइएमा महासंघ स्वयंले कारवाहीका लागि पहल गर्ने चेतावनीपनि दिएको छ ।

Related posts

वीरगन्जमा प्रदर्शनकारीद्धारा पत्रकार साहमाथि हातपात, मोबाइल खोसेर गायब पारियो

MadhesKhabar

मधेसमा बाढी पहिराेकाे विपदबाट प्रभावितकाे उद्दारमा लाग्न सुरक्षा प्रमुखहरुलाई मुख्यमन्त्री सिंहको निर्देशन

MadhesKhabar

कर्तब्य ज्यान मुद्दामा १९ वर्षदेखि फरार अभियुुक्त कुर्मी वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment