Madhes Khabar
समाचार

वीरगन्जमा प्रदर्शनकारीद्धारा पत्रकार साहमाथि हातपात, मोबाइल खोसेर गायब पारियो

वीरगन्ज,२१पुसःवीरगन्जमा सोमबार भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा पत्रकार श्रवण साहमाथि हातपात गर्नुका साथै उनको मोबाइल सेट खोसेर गायब पारिएको छ ।

धनुषामा मस्जिद तोडफोडको घटनाको विषयलाई लिएर वीरगन्जमा आइतबारदेखि नै दुई फरक समुदायले प्रदर्शन गर्दै आएका छन् । सोमबारपनि बिहानैदेखि ती दुवै समुहले वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए ।

वीरगन्जको आदर्शनगर क्षेत्रमा सोमबार दिउँसो भइरहेको प्रदर्शनको भिडियो खिच्ने क्रममा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक साहमाथि प्रदर्शकारीहरुले हातपात गर्नुका साथै उनको मोबाइल फोन खोसेका हुन् ।उक्त मोबाइल अहिलेसम्म पनि आँफुले फिर्ता नपाएको पत्रकार साहले बताए ।

यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै पत्रकार साहमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरूमाथि आक्रमण तथा दुव्र्यवहारका घटना बढ्दै गएकोप्रति पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको हो।

प्रदर्शनको दृश्य खिचिरहेका भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक साहमाथि प्रदर्शनकारीले आक्रमण गर्नुका साथै मोबाइलसमेत खोस्ने घटना निन्दनीय भएको भन्दै पत्रकार महासंघले समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको आक्रमण र अवरोध प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने अधिकारमाथिको गम्भीर उल्लंघन भएको जनाएको छ।

महासंघले स्वतन्त्र प्रेसविरोधी गतिविधि नगर्न प्रदर्शनकारीलाई सचेत गराउँदै पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग पनि गरेको छ।

पत्रकार महासंघ पर्सा शाखाले धार्मिक समुदायसँग सम्बन्धित प्रदर्शनका समाचार सामग्री प्रसारण र प्रकाशन गर्दा संयमता र सावधानी अपनाउन सञ्चारकर्मीहरुलाई अपिलपनि गरेको छ।

Related posts

वीरगन्जको अलौंमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

MadhesKhabar

खानेपानी मन्त्रालयले वीरगन्ज महानगरलाई दियो दुई थान पिकअप गाडी

MadhesKhabar

वीरगन्जबाट चाेरी भएकाे बस भिस्वामा फेला पर्याे

MadhesKhabar

Leave a Comment