वीरगन्ज, २६ चैत:वीरगन्मा बिहीबारदेखि महिला जनप्रतिनिधिहरूका लागि लैङ्गिक उत्तरदायित्व, समावेशी शासन र डिजिटल हिंसासम्बन्धी तीन दिने तालिम सुरु भएको छ ।
बारा र पर्सा जिल्लाका निर्वाचित महिला जनप्रतिनिधिहरूलाई लक्षित गर्दै महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाल ले उक्त तालिम सञ्चालन गरेको हो । महिला जनप्रतिनिधिलाई आफ्नो जिम्मेवारीप्रति अझ सचेत बनाउनुका साथै बढ्दो डिजिटल हिंसाबाट सुरक्षित रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने अभिप्रायले तालिम सञ्चालन गरिएको हो ।
तालिममा बाराको आदर्शकोतवाल गाउँपालिका तथा पर्साको वीरगन्ज महानगरपालिका, पकाहमैनपुर गाउँपालिका र बिन्दबासिनी गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको छ ।
ओरेक नेपालकी परियोजना संयोजक मिलन कार्कीका अनुसार तालिममार्फत जनप्रतिनिधिहरूलाई उनीहरूको अधिकार, कर्तव्य र भूमिकाबारे सचेत बनाइने छ । साथै डिजिटल माध्यमको सुरक्षित र प्रभावकारी प्रयोग, अनलाइन दुव्र्यवहारबाट जोगिने उपाय तथा डिजिटल साक्षरताबारे पनि प्रशिक्षण प्रदान गरिने कार्कीले जानकारी दिइन् ।
तालिममा जेसी विज्ञ गीता सुवेदीले प्रशिक्षण दिएकी छन् । उनले स्थानीय तहमा नीति तथा कार्यक्रम कार्यान्वयन, लैङ्गिक संवेदनशील योजना निर्माण र पालिकाबीच समन्वय गरेर काम गर्ने विषयमा प्रशिक्षण दिइरहेकी छन् ।
सुवेदीले महिला जनप्रतिनिधिहरू डिजिटल माध्यममा झन् बढी जोखिममा पर्ने भएकाले सुरक्षित प्रयोगका उपाय सिक्नु आजको आवश्यकता भएको बताइन् । “डिजिटल प्लेटफर्म अवसर पनि हो, जोखिम पनि । त्यसैले सचेत भएर प्रयोग गर्न सके महिलाहरूको आवाज अझ बलियो बन्न सक्छ,” उनले भनिन् ।
ओरेक नेपाल मधेि प्रदेश संयोजक बीना कुमारी सिंहका अनुसार तालिममा लैङ्गिक हिंसा न्यूनीकरणमा जनप्रतिनिधिहरूको भूमिका, लैङ्गिक मैत्री बजेट निर्माण, समावेशी योजना तर्जुमा लगायतका विषयहरू समेटिएको छ ।
यसैबीच, महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाल ले मधेश प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाहरूमा पनि लैङ्गिक हिंसा नियन्त्रण तथा महिला सशक्तीकरणका लागि विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ । समुदायस्तरमा सचेतना अभिवृद्धि, क्षमता विकास, नीति निर्माणमा सहकार्य र पीडितको पुनस्र्थापनामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ ।
तालिमले स्थानीय तहमा महिला नेतृत्वलाई सशक्त बनाउने, लैङ्गिकमैत्री नीति तथा कार्यक्रम निर्माणमा टेवा पु¥याउने र सुरक्षित डिजिटल वातावरण निर्माणमा सहयोग पुग्ने तालिममा सहभागीहरुको अपेक्षा छ ।

