Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेट : कोशीमाथि गण्डकीको फराकिलो जित

वीरगन्ज,२१चैतः  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार वीरगन्जमा भएको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले हराएको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा २२७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कोशीलाई १८८ रनमा रोक्दै गण्डकीले जित हात पारेको हो ।

कोशीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन मात्रै जोड्न सक्यो । कोशीका दिपेश कंडेलले अर्धशतक बनाएपनी हार टार्न सकेनन् । दिपेशले ७३ बलमा ५२ रन जोडे । यसैगरी आशिष मगरले ३०, सुमन श्रेष्ठले २०, सकिब हकले १७, शिवांश बजगाईंले १५ रन बनाए ।

बलिङ्तर्फ गण्डकीका किब्रीन श्रेष्ठले तीन विकेट लिँदा अप्राजित पौडेल र सुवास भण्डारीले दुई÷दुई विकेट हात पारे । कप्तान विपिन खत्री र कमल परियारले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा सात विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।६० रनको स्थितिमा ६ विकेट गुमाएको गण्डकीलाई सम्हाल्दै ओपनर अर्जुन कुमालले शानदार शतक प्रहार गरेर बलियो योगफल बनाएका थिए । निर्धारित ५० ओभरको अन्तिम बलमा रनआउट भएका अर्जुनले १४१ बलको सामना गर्दै १०२ रन जोडे ।

प्लेयर अफ दि म्याच अर्जुनसंग १७६ रनको साझेदारी गरेका विपिन खत्रीले अर्धशतक प्रहार गरे । विपिनले ८६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७६ रन बनाए । कोशीविरुद्ध खराब सुरुवात गरेको गण्डकीका ओपनर गौरव विक शून्यमै पेभेलियन फर्किदा किब्रीन श्रेष्ठ र दिनेश बुढामगरले समान एक रनमै आउट भए । दीपक डुम्रेले १५ रन र मुस्कान थापा १० रन जोडेर आउट हुँदा गण्डकी दवावमा परेको थियो ।

गण्डकीको सुरुवाती ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कोशीका दिपेश कंडेलले चार विकेट लिए । १० ओभर बलिङ गरेका दिपेशले तीन मेडन सहित १८ रन खर्चिएर चार विकेट लिएका हुन् । राकेश साह र सुजन थपलियाले एक–एक विकेट हात पारे । जितसँगै गण्डकी पाँच अंकसहित तालिकाको सातौं स्थानमा छ भने लगातार पराजित भएको कोशी एक अंकसहित तालिकाको पुछारमा छ ।दिवाकर भण्डारी/अन्नपूर्णपोष्ट

 

Related posts

मधेसमा क्रिकेट खेलकाे विकासका लागि प्रदेश सरकार लागेकाे छ : खेलकुदमन्त्री जयसवाल

MadhesKhabar

सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

MadhesKhabar

अमेरिकाले सन्दीप लामिछानेलाई दियो भिसा, आजै बेलुका उड्ने

MadhesKhabar

Leave a Comment