
वीरगन्ज,१ चैत :फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा क्लीन स्वीप गर्दा पर्सा–२ मा निर्वाचित ३६ वर्षीय सुशील कुमार कानु जिल्लाको कान्छो सांसद बनेका छन् ।
पर्सा– १ मा रास्वपकै ४६ वर्षीय हरि पन्त, पर्सा–३ मा रास्वपाकै ५७ वर्षीय रामाकान्त चौरसिया र पर्सा–४ मा रास्वपाकै ५० वर्षीय टेकबहादुर शाक्य निर्वाचित भएका छन् । कानु पर्सा जिल्लाको हालसम्मै कान्छो सांसदपनि हुन् ।
वीरगन्ज–१० को वडाध्यक्षको कार्यकाल करिब १५ महिना बाँकी छँदै राजिनामा दिएर प्रतिनिधि सभा सदस्य पदमा रास्वपाबाट उम्मदवार बनेका कानुले पर्सा–२ मा राजनीतिक दिग्गज पूर्वमन्त्री तथा तीन पटकका सांसदसमेत रहेका कांग्रेस उम्मेदवार अजय चौरसियालाईसमेत १८ हजार ८ सय ५० मतान्तरले पराजित गर्न सफल भए । जुन मतान्तर जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाबाट विजयी भएकाहरुको मतान्तरबाट सबै भन्दा बढी हो ।
पर्सा–२ मा कानु ३० हजार ७ सय ४० मतका साथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरे भने एमाले उम्मेदवार रिमाकुमारी यादव ११ हजार ६ सय ५ मतका साथ तेस्रो स्थानमा सिमित हुन पुगिन् । त्यस क्षेत्रमै राप्रपाबाट उम्मेदवार रहेकी पूर्वसांसद विना जयसवालले भने १ हजार ९९९ मत मात्रै पाइन् ।
पर्सा–२ मा प्रतिनिधि सभा सदस्यमा जिल्लामै सबै भन्दा बढी मतान्तरसहित निर्वाचित हुन सफल कानुले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत दिलाएर रास्वपालाई पहिलो दल बनाउन सफल भए । पर्सा–२ कुल ९५ हजार १ सय २० मतदाता रहेकोमा ६५ हजार ८ सय ७८ मतदाताले मतदान गरेका थिए । खसेको मतमध्ये कुल ६१ हजार ३ सय १० मत सदर भएको र त्यसमा रास्वपाले समानुपातिक तर्फ पर्सा जिल्ला मै सबैभन्दा बढी पर्सा–२ मै ३४ हजार ९ सय १८ मत प्राप्त गरेको छ । यस क्षेत्रमा समानुपातिकमा कांग्रेस १० हजार ३ सय ४० मतसहित दोस्रो र एमाले ८ हजार ५ सय ८५ मतसहित तेस्रो स्थानमा रहेको छ ।
माघ ६ को मनोनयनका एक दुई दिनअघि मात्रै रास्वपमा प्रवेश गरेर पर्सा–२ को टिकट लिन सफल कानुले चुनाव प्रचारकै क्रममा पर्सा–२ मा पर्ने २६ वटै वडामा पार्टीको वडा इकाई समिति , १०६ टोलमा टोल समिति र ३८ वठा बुथमा बुथ समिति गठन गर्न सफल भएका थिए ।
आफ्नै वडामा रहेको घडिअर्वा स्पोट्र्स क्लबबाट सामाजिक सेवाको यात्रा प्रारम्भ गरेका कानु २०७४ को स्थानीय तह निर्वाचनमा वीरगन्ज–१० को वडाध्यक्षमा पराजय व्यहोरेका थिए । पहिलो चुनावमै असफलता हात परेपनि लगत्तै भएको महानगरपालिकाको कार्यपालिका सदस्यमा भने उनि निर्वाचित भए । त्यसयताका चुनावी प्रतिस्पर्धामा भने उनले हारको सामाना गर्नु परेन । २०७९ को स्थानीय तह निर्वाचनमा पुन वडाध्यक्षमै प्रतिस्पर्धा गर्दा फेरि जितको सफलता हात पारे ।
वडाध्यक्षको करिब साढे तीनवर्षको कार्यकालमा सिमित स्रोत–साधनका बाबजुद पनि कानुले आफ्नो वडामा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा उल्लेख्यनीय कामहरु गर्दै चर्चा बटुल्न सफल भएका थिए । करिब २ हजार ८ सय घरधुरीलाई निःशुल्क खानेपानी, सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक , धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, युवालाई लक्षित वार्षिक क्रिकेट प्रतियोगिता आयोजना लगायतका कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

