काठमाडौँ,१ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगाएको छ।
आइतबार पार्टी कार्यालयमा चःमतीमा बसेको रास्वपाको सचिवालय बैठकले ५७ जनाको नामावली टुंगो लगाएको हो। पार्टी सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाको कारण बैठकमा उपस्थित नभएर भर्चुअल भएका थिए।
बैठकले ४८ जना महिला र ९ जना पुरुषको नामवली निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। क–कसको नाम सिफारिस गरियो भन्ने रास्वपाले जानकारी दिएको छैन। ‘हामीले ५७ जनाको नाम सिफारिस गरेका छौँ। सबै प्रकृया पूरा गरेर निर्वाचन आयोगले नामावली सार्वजनिक गर्छ’, झाले भने।
उनकाअनुसार खसआर्यतर्फ १७ जना, आदिवासी जनजातीतर्फ १६ जना, मुस्लिमतर्फ ३ जना, दलितर्फ ८ जना, मधेसीतर्फ ९ जना र थारुतर्फ ४ जना सिफारिस भएका छन्।

