Madhes Khabar
राजनीति

सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा हार्नुका मुख्य कारण के–के थिए ?

सर्लाही,२६ फागुनःनेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ मा उम्मेदवार हुने निर्णय अप्रत्यासित थियो । उम्मेदवार मनोनयनको दिन (माघ ६ गते) उनले सर्लाहीमा प्रतिस्पर्धा गर्ने निर्णय लिए । सर्लाही–४ मा चुनावी प्रचारका लागि कम समय दिए पुग्ने विश्वासका साथ उनले यो क्षेत्र रोजेका थिए ।

सर्लाही–४ को प्रचारका लागि कम समय दिए पुग्ने पूर्व आकलन गरी देशभर कांग्रेसको चुनावी प्रचारमा उनी सहभागी हुन पाउने मनसायले थापाले यो क्षेत्र रोजेका थिए ।

सर्लाही–४ मा प्रचारका लागि धेरै समय खर्चिनु नपर्ने भन्दै सभापति थापालाई क्षेत्रका नेताहरुले विश्वस्त गराएका थिए ।सर्लाहीका नेताहरुका अनुसार पूर्व जिल्ला सभापति सुरेन्द्र सिंह, वीरेन्द्र सिंह लगायतले सभापति थापालाई यो क्षेत्रको उम्मेदवार बनाउनका लागि बढी जोड गरेका थिए ।

सर्लाही–४ मा कम समय दिएर देशव्यापी प्रचारमा निस्कने पूर्व आकलन मिल्न सकेन । साथै, कडा मिहिनेतको बाबजुत परिणाम उनको पक्षमा आएन । प्रतिनिधि सभामा तीनपटक निरन्तर निर्वाचित सभापति थापा क्षेत्र परिवर्तन गरेर सर्लाही–४ पुग्दा पराजय भोगे ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको लहर छाएको बेला सभापति थापा पनि पराजित भए । सभापति थापाका प्रतिस्पर्धी अमरेश सिंहलाई बालेन्द्र शाहलाई देखाएर मत माग्ने सुविधा थियो ।

बालेन्द्र स्वयं रोड शो गरेर सर्लाही पुगेर अमेरशको पक्षमा माहोल बनाउने कार्य गरेका थिए । बालेन्द्रले रोड शो गरेको केही दिनपछि रास्वपा सभापति रवि लामिछाने मलङ्गवा पुगेर थापा लक्षित अभिव्यक्ति दिएका थिए ।

थापालाई लक्षित गर्दै मतदातासँग रविले भनेका थिए,‘ठाउँको ठाउँको रोक्नुहोस् ।’ मधेसमा छाएको बालेन्द्रको लहरले रास्वपाप्रति मत खनियो । मधेसका ३२ क्षेत्र मध्ये ३१ क्षेत्रमा रास्वपाले जित्यो । पुरानो सत्तालाई विस्थापित गर्न जनताले रास्वपालाई मत दिएको र नयाँ तरिकाले देश सञ्चालन होस् भन्ने अपेक्षासहित बालेनलाई हेरेर मत खसेको सर्लाही क्याम्पसका पूर्व प्रमुख कृष्णदेव यादव बताउँछन् । यादवले भने,‘मधेसले बालेनमा आशा देखेर मत दिएको हो । उहाँले राम्रोसँग व्यवस्थापन गर्नसक्नु भएन भने फेरि आन्दोलन नहोला भन्न सकिन्नँ ।’

कांग्रेस सभापति थापा सर्लाही–४ मा पराजित हुनुमा ‘बालेन फ्याक्टर’ प्रमुख कारण त छँदै थियो । पार्टीभित्रको आन्तरिक वैमनस्यता, सभापतिलाई लान जोडबल गर्नेहरुप्रति क्षेत्रका नागरिकको बुझाईले प्रतिकूल मत आउनुमा कारण रहे । विभिन्न दलका नेता कार्यकर्ता, समाजका अगुवाहरू कांग्रेसमा प्रवेश हुँदा समेत उनीहरुले मत ट्रान्सफर आशा गरे अनुरुप गराउन नसक्दा मतान्तर बढ्यो ।

सुरेन्द्र–वीरेन्द्र हाबी हुने भयले ‘प्रतिकूलता’
स्थानीय नेताहरुका अनुसार मधेस प्रदेशका उपसभापति एवं प्रदेश सांसद वीरेन्द्र सिंह र सर्लाहीको पूर्व सभापति सुरेन्द्र सिंहप्रति धुमिल छविले सभापति थापालाई प्राप्त हुने मत घटेको हो ।
ठेक्का पट्टाको कार्यमा संलग्न सिंह दाजुभाइले शक्तिको आडमा अन्य दलका नेताहरुलाई दुःख दिने कार्य गरेको कांग्रेसका स्थानीय नेता कार्यकर्ता नै स्विकार्छन् ।

कांग्रेसका एक स्थानीय नेताले सुनाए,‘सभापति गगनजीले जितेको अवस्थामा सिंह दाजुभाइको रवाफ बढ्ने र आफूहरु प्रताडित हुनुपर्ने अरु दलका नेताहरुलाई लाग्यो । गगन जित्नु भन्दा अमरेश जिताउँदा ठीक हुने भन्दै अघोषित गठबन्धन गरे ।’

उनको कुरालाई गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवको भनाइले पुष्टि गर्दछ । स्थानीय तहको निर्वाचनमा लोसपाबाट निर्वाचित भएका यादवले चुनाव हुनु केही दिन अघि सर्लाहीका पत्रकारहरुसँग कुरा गर्ने क्रममा जसपा नेपालले जित्ने अवस्था नहुँदा अमेरशलाई जिताउन उपयुक्त हुने विचार राखेका थिए ।

जसपा नेपालका उम्मेदवार रामेश्वर राय यादवले मात्रै १८४ मत प्राप्त गरे । जबकी, यस क्षेत्रमा अघिल्लोपटक जसपा नेपालका राकेशकुमार मिश्रले ५ हजार ८१३ मत ल्याएका थिए । जसपाले अघिल्लोपटक पाएको बहुसंख्यक मत रास्वपाका उम्मेदवारलाई ट्रान्सफर भएको कांग्रेसका नेता कार्यकर्ता दाबी गर्छन् ।

सभापति थापाले चुनाव जित्दा सिंह दाजुभाइ हाबी हुने भय मधेसका मुख्यमन्त्री कृष्ण यादवलाई समेत भएको क्षेत्रमा चर्चा छ । विशेष महाधिवेशनको विपक्षमा रहेका मुख्यमन्त्री यादवले आफ्नो पद गुम्ने चिन्ताले सभापति थापालाई मनैदेखि सहयोग नगरेको एक नेताले सुनाए । उनी भन्छन्,‘गगनजीले पछि वीरेन्द्र सिंहलाई मुख्यमन्त्री बनाउने डर कृष्ण यादवमा देखियो । यादव समुदायको मत आकर्षित गर्न उनको भूमिका सोंचे अनुसार भएन ।’

मत परिणाम सार्वजनिक भएसँगै अमरेश र रवीन्द्रको आरोप प्रत्यारोप सामाजिक सञ्जालमा सुरु भइसकेको छ ।सभापति थापाले भ्रष्ट व्यक्तिहरुको भर गरेर यस क्षेत्रमा आएको अमरेशले आरोप लगाएका छन् । कांग्रेसका नेताहरु सिंह दाजुभाइ लक्षित गर्दै थापालाई अमरेशले भनेका छन्,‘तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो ।तर तपाईं भ्रष्टहरूद्वारा आयातित उम्मेदवार हुनुभयो ।’ अमरेशले वीरेन्द्रलाई सामाजिक सञ्जालबाट नै जवाफ फर्काएका छन् । अमेरशलाई चेतावनीको शैलीमा वीरेन्द्रले भनेका छन्,‘तपाईँहरूको कालाकर्तुत र भ्रष्टाचारको छानबिन गराउन आमनागरिकलाई जिल्लादेखि काठमाडौं माइतीघरको सडकमा बसेर आन्दोलन र आमरण अनशन बस्न बाध्य हुन नपरोस् ।’

सभापति थापाको पराजयमा पार्टीभित्रको आन्तरिक कारणले पनि काम गरेका क्षेत्रका नेताहरुको निष्कर्ष छ । विशेष महाधिवेशनको विपक्षमा रहेका शीर्ष तहका नेताहरुले सभापति थापालाई हराउन भूमिका खेलेको जिल्ला तहका एक नेताले सुनाए । उनी भन्छन्,‘कार्यकर्ता परिचालन गरे । क्षेत्रका कार्यकर्तालाई आफैं फोन गरेर अनेक हर्कत गरे ।’

दर्जनौं नेता भित्रिए, मत तानेनन्

सभापति थापा सर्लाही पुगेर दर्जनौं फरक दलका दर्जनौं नेता कार्यकर्तालाई प्रवेश गराए । जसपाका नेताहरू मनीष मिश्र, केदारनन्दन चौधरी, केदार सिंह, अभय सिंह, सुशील मिश्र लगायत कांग्रेसमा प्रवेश गरेका थिए ।

अघिल्लोपटक यसै क्षेत्रका उम्मेदवार बहुजन एकता पार्टीका राजाराम पासवानदेखि गत चुनावमा अमरेशलाई सघाएका कमलेश्वर र रविनन्दन चौधरीलाई पनि सभापति थापाले प्रवेश गराएका थिए ।

लोसपाका पूर्वमहासचिव समेत रहेका यसै क्षेत्रको रामनगर गाउँपालिकाका मिश्रले आफ्नो पालिकाबाट सभापति थापाले लिड गर्ने दाबी गरेपनि मतान्तर घट्न सकेन ।

बलराका पूर्वप्रमुख समेत रहेका अभय सिंहले आफ्नो पालिकाबाट कांग्रेसको पक्षमा उल्लेख्य मत खसाउन सकेनन् । बलराबाट मतगणना सुरु गरेसँगै अमेरशले अग्रता लिएका थिए ।

सभापति थापाले प्राप्त गरेको मत र अमरेशले प्राप्त गरेको मतको आधारलाई विश्लेषण गर्दा यसपटक मत बढी प्रतिस्पर्धा द्विपक्षीय देखिएको छ ।

अघिल्लोपटक त्रिपक्षीय प्रतिस्पर्धा हुँदा मत बाँडिएको थियो । १२ देखि १४ हजार मत ‘होल्ड’ गर्नसक्ने भनिएका शिवपुजन यादवले आफ्नो छोरा अमनिशलाई एमालेबाट उम्मेदवार बनाउँदा उक्त अघिल्लोपटकको मत वचाउन सकेनन् ।

अमनिशले ९ हजार ३४३ मत प्राप्त गरे । २०७९ सालमा शिवपुजनले छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्रबाट उठाउँदा उनले १४ हजार ६२२ मत प्राप्त गरेका थिइन् ।

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले प्राप्त गरेको मतबाट चार हजार मत थप्दा समेत सभापति थापाले जित्न सकेनन् ।२०७९ सालमा नागेन्द्र कुमारले त्यस समय १८ हजार २५२ मत ल्याएका थिए भने यसपटक थापाले २२ हजार ८३१ मत ल्याएका छन् । शिवपुजनसँग रहेको भनिएको मत सहित अघिल्लोपटक जसपा र जनमतले प्राप्त गरेको अधिकांश मत अमेरशको पक्षमा खसेको देखिन्छ । ती दलका उम्मेदवारले प्राप्त गरेको मत उल्लेख्य घटेको छ ।

१ लाख २१ हजार १२ मतदाता रहेको यस क्षेत्रमा जातीय समीकरण अनुसार यादवको संख्या बढी छ । यादव समुदायको अधिकांश मत अमनिशलाई जानेमा ढुक्क रहेका थापाले अन्य समुदायबाट आशातित मत पाउन सकेनन् ।

कोइरी, दलित, सिंह ब्राहृमण, मुस्लिम लगायतको समुदायका मत अधिकांश तान्न सकिनेमा विश्वस्त रहेपनि थापाको पक्षमा जित्ने गरी मत खसेन । पहाडी समुदाय उल्लेख्य रहेको बरहथवा नगरपालिकाबाट अमेरशलाई भन्दा बढी मत खस्ने अपेक्षा गरेपनि मतान्तर त्यो पालिकाका वडामा प्राप्त मतले मतान्तर घटाउन सकेनन् ।

भाषाको समस्या

सभापति थापालाई यस क्षेत्रका मतदातासँग दोहोरो संवाद गर्न लागि भाषाले समस्या पारेको थियो । मूलतः महिलाहरुसँग दोहोरो संवाद गर्न कठिन भएको उनले प्रचारकै क्रममा भनेका थिए । उनीहरुका कुरा बुझेपनि आफ्नो धारणा उनीहरुलाई सुनाउन कठिन भएको सभापति थापाले बताएका थिए ।

क्षेत्रमा पुगेसँगै प्रचारलाई व्यापकता दिएका सभापति थापाले युवा र महिलाहरुको भेला राखेका थिए । प्रचार घरदैलोको क्रममा कतिपय समस्या व्यक्तिगत तवरले हल गर्न सकिने विषयलाई समाधान पनि गरिदिएका थिए । तर, विशेष महाधिवेशन गरेर ‘परिवर्तित कांग्रेस’ लिएर मतदाताकहाँ आइपुगेको बुझाउन उनलाई समय पर्याप्त भएन । आफ्नो लागि प्रतिकूल रहेको निचोडमा पुगेका सभापति थापा निरन्तर क्षेत्रमा खटे । चुनावी सभाका लागि केही स्थानमा पुगेपनि साँझ सर्लाही नै पुगे । चुनावी माहोल रास्वपाको पक्षमा हुँदा थापाको प्रयत्नले सकरात्मक नतिजा दिन सकेन ।

सर्लाही क्याम्पसमा पूर्व प्रमुख कृष्णदेव यादव सभापति थापा कांग्रेसको जन्मथलोमा आएर प्रतिस्पर्धा गर्दा पराजित हुनु दूर्भाग्यपूर्ण रहेको बताउँछन् ।‘सर्लाही–४ आउने उहाँको दूरदर्शी निर्णय थियो । मधेसलाई जबसम्म नेताले बुझ्न सक्दैन । तबसम्म देशलाई बुझ्न सक्दैन । यो कुरालाई राम्ररी बुझेर उहाँले मधेसलाई रोज्नुभयो,’ पूर्व क्याम्पस प्रमुख यादव भन्छन्,‘मैले देखेको सर्लाही– ४ मा संकीर्ण मानसिकताबाट जकडिएका व्यक्तिहरु रहेछन् ।संकीर्ण मानसिकताबाट ग्रसित मान्छेहरुले गगनजीलाई पराजित गरेर पठाए । यो मधेसका लागि दुर्भाग्यपूर्ण हो ।’ (यो समाचार अनलाइनखबर डटकम बाट साभार गरिएको हो )

 

Related posts

उपेन्द्र यादवको पक्षमा दुइ तिहाइ पुग्यो ,नेताहरु भन्छन् : जसपा अब फुट्दैन

MadhesKhabar

वीरगन्ज महानगरमा मात्रै २७ हजार मतदाता एमालेमा प्रवेश गरेको दाबी

MadhesKhabar

अफवाह र प्रोपागाण्डा फैलाएर कांग्रेसको विरासत मेट्ने दीवा सपना नदेखे हुन्छ : पूर्वमन्त्री अजय चौरसिया

MadhesKhabar

Leave a Comment