वीरगन्ज,१८माघःपर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियाले कुनै अफवाह र प्रोपोगण्डा फैलाएर कांग्रेसको विरासत नमिटने बताएका छन् ।
सोमबार वीरगन्जमा नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरका वडाहरुको कांग्रेसको वडास्तरीय भेलालाई सम्बोधन गर्दै चौरसियाले कुनै नयाँ वा पुराना शक्ति भन्नेहरुको प्रोपोगण्डाबाट डराउने पार्टी कांग्रेस नभएको बताए ।उनले भने,‘ यदि कसैले कुनै अफवाह वा प्रोपोगण्डा फैलाएर कांग्रेसको हैसियत समाप्त पार्ने सोचेको छ भने त्यो उनिहरुको दीवा सपना मात्रै हो । ’
अहिले संकटमा परेको देशमा फेरि शान्ति, अमन–चयन फर्काउन र विदेशीहरुको हस्तक्षेपबाट देशलाई जोगाउन देशभरका कांगेसी कार्यकर्ता र जनताले कांग्रेसलाई नै जिताउने दाबीपनि उनले गरे । उनले भने,‘फागुन २१ को निर्वाचनपछि फेरि नेपालमा कांग्रेसकै नेतृत्वमा सरकार बन्दैछ । यसमा सबै ढुक्क भए हुन्छ।’
उनले थपे,‘ कांग्रेस न कुनै ठगहरुको पार्टी हो , न कुनै गुण्डाहरुको पार्टी हो । कांग्रेस जब जब यो देशमा संकलट आउँछ त्यस बेला जनताका लागि छातीमा गोली थाप्न सडकमा उत्रिने नेताकार्यकर्ताहरुको पार्टी हो । यो कुरा इतिहासमा पटक पटक साबित भइसकेको छ ।’
जेनजी आन्दोलन सोसल मिडियाको पुनबहाली र सुशासनको माग राखेर भएपनि त्यसमा घुसपैठ गरेर बदनाम गराइएको उनले बताए । उनले भने,‘ जेनजी आन्दोलनमा घुसपैठ भएकै कारण कैयन युवाहरुको ज्यान गयो । ती शहिदहरुप्रति म पुन श्रद्धासुमन व्यक्त गर्न चाहन्छु ।’
कांग्रेस वीरगन्ज महानगरका सभापति मणिन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त भेलालाई मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, कांग्रेस केन्द्रिय सदस्य रामरुप कुर्मी , पर्सा सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, क्षेत्रीय सभापति महमद साहबुदिन,पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेली लगायतका नेतहारुले पनि सम्बोधन गरेका थिए ।

