वीरगन्ज ३,फागुन: प्रतिनिधिसभा निर्वाचन आउन अब १८ दिन मात्रै बाँकी रहँदा पनि प्रमुख राजनीतिक दलहरूले निर्वाचन आयोगले तोकेको समयसीमा भित्र घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्।
निर्वाचन आयोगले माघ २७ गते नै फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको थियो। तर नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता ठूला दलहरूले आयोगको निर्देशन पालना नगरेको देखिएको छ।
आयोगको निर्देशन अनुसार हालसम्म नेकपा, राप्रपा, जसपा, राष्ट्रिय जनमोर्चा लगायतका दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
आइतबार मात्रै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टी (उनेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि घोषणापत्र सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार दल तथा उम्मेदवारहरूले घोषणापत्र बुझाउने क्रम जारी छ।
उनले भने,“आजसम्म झन्डै पाँच सय वटा घोषणापत्र आयोगमा आइसकेका छन्। आयोगले आचारसंहिता पालन गर्न निरन्तर निर्देशन दिइरहेको छ।”
घोषणापत्र सार्वजनिक नगरेका दलमध्ये कांग्रेसले फागुन ६ गते मधेश प्रदेशबाट घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।
एमालेले फागुन ७ गतेभित्र घोषणापत्र ल्याउने तयारी गरेको बताइएको छ भने रास्वपाले कर्णाली प्रदेशबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
निर्वाचन नजिकिँदै गर्दा ठूला दलहरूले आयोगको निर्देशन बेवास्ता गर्नुले निर्वाचन आचारसंहिता पालनको विषयमा प्रश्न उठ्न थालेको छ।

