Madhes Khabar
हेडलाइन

वीरगन्जमा चुनाव प्रचारको ध्वनी प्रदुषणले मतदाता आजित

क्रान्ति शाह
वीरगन्ज, २१ बैशाख :वीरगन्जका अधिवक्ता एंव पत्रकार रामनारायण कुर्मीले बुधबार आफनो फेसबुक पेजमा स्टाटस लेखेका छन् – चर्को आवाजमा लाउड स्पीकर बजाउदै भोट माग्ने उम्मेदवारलाई मत नदिने मेरो बिचार ।
उनको स्टाटसमा प्रदीप साहले कमेन्ट लेखेका छन् – चर्को लाउड स्पीकर बजाएर भोट माग्ने काम गलत भइरहेको छ , सिडिओ ले यसलाइ तुरुन्तै रोक्नु पर्छ ।
सोमबार बिहान वीरगन्ज १० घडीअर्वामा भेटिएका स्थानीय युवा नरेन्द्र प्रताप साहले पनि भने ,‘ उम्मेदवारहरुको भोट माग्ने यो भड्कीलो शैलीले जनता आजित भइसकेका छन् , यसले भोट बढाउने होइन बरु भोट काटिरहेको छ ।
अधिवक्ता कुर्मी अनि युवा साह जस्तै वीरगन्जवासी अहिले चुनावी प्रचारका लागि भइरहेको ध्वनी प्रदुषणले पिडित छन् ।
निर्वाचन अचारसंहिता ठाडै उल्लंघन गरेर दल र उम्मेदवारहरुले इरिक्सा र अटोमा आफनो चुनावी पोष्टर र ब्यानेर टाँसेर ठूल् ठूला लाउडस्पीकर बजाएर घुमाइरहे पनि न त निर्वाचन कार्यालयले रोकेको छ न त स्थानीय प्रशासनले नै कुनै कदम उठाएको छ ।


बैशाख ३० को निर्वाचनका लागि मनोनयन दर्ता हुनु भन्दा दुइ हप्ता पहिले देखि नै दल र उम्मेदवारहरुले इरिक्सा र अटोमा ठूल् ठूला लाउड स्पीकर र हर्नबाट चुनावी गीत र नारा बजाएर भोट मागी रहेका छन् ।
महानगरका ३२ वटै वडामा चुनावी प्रचारका लागि बिहान देखि राति सम्म वडा अध्यक्षका उम्मेदवारहरुका चुनावी प्रचार गरिरहेका इरिक्सा र अटोमा बजिरहेको चर्को ध्वनी प्रदुषणले नगरवासी आजित भएका छन् ।
एउटा वडामा दलगत र स्वतन्त्र गरि सरदर आधा दर्जन वडा अध्यक्षका उम्मेदवार छन् ।हरेक उम्मेदवारले कम्तिमा पनि ५÷६ वटा इरिक्सा र अटोबाट चर्को ध्वनी बजाएर आफनो प्रचार गरिरहेका छन् ।
व्डा अध्यक्ष बाहेक मेयर , उपमेयर र वडासदस्यका उम्मेदवारले पनि छुट्टा छुट्टै यसरी नै इरिक्सा र अटोमा प्रचार गरिररहेका छन् ।
महानगरको ३२ वटै वडामा गरि करिब २ हजार भन्दा बढि इरिक्सा र अटोले चर्को ध्वनीमा उम्मेदवारको प्रचार गरिरहेका हुन् ।
चार पाङ्गे्र गाडीको भाडा भन्दा निक्कै सस्तो परेका कारण पनि चुनावी प्रचारका लागि वडा अध्यक्षका उम्मेदवारहरुको राजाइमा इरिक्सा र अटो परेको हो ।


वीरगन्ज ३ मा वडाअध्यक्षका एक उम्मेदवार भन्छन्‘ एउटा टाटासुमो वा स्कार्पियो एक दिनका लागि भाडामा लियो भने तेल समेत गरेर कम्तिमा पनि १० हजार रुपैया खर्च पर्छ तर इरिक्सामा भने एक दिनको खर्च १५ देखि १७ सय मात्र छ , त्यसैले मैले ६ वटा इरिक्सामा चुनावी गीत बजाएर प्रचार गराइरहेको छु ।
ती अटोरिक्सा र अटोको काम भनेको बिहान उज्यालो भए देखि राति सम्म वडाका हरेक टोल र गल्लीहरुमा जति पटक सकिन्छ त्यति पटक घुमेर उम्मेदवारको चुनावी प्रचारको चर्को ध्वनीमा चुनावी गीत बजाइ दिने हो ।
घडीअर्वाका युवा नरेन्द्रप्रताप भन्छन् ,‘ बिहान ७ नबज्दै बेडरुम सम्म कानै फुट्ने गरि चुनावी प्रचारको गीतको आवाज आइ पुग्छ , सबै भन्दा बढि यसले केटाकेटीको पढाइमा डिस्टर्ब गरिरहेको छ, यसले उम्मेवारको भोट बढाएको छैन बरु उल्टै भोट काटिरहेको छ ।
यस प्रकारको भड्कीलो प्रचार शैलीले मतदातालाइ रिझाउनुको सट्टा उल्टै उम्मेदवार प्रति आक्रोश थप्ने काम गरिरहेको उनको बुझाइ छ ।
वीरगन्ज ८ का स्थानीय सुरेश सर्राफको पनि प्रतिक्रिया उस्तै छ ।
सुरेश भन्छन्,‘ सानो स्वरमा बजाइ दिए त आपत्ति थिएन ,तर १०÷१० मिनेटकै फरकमा हरेक उम्मेदवारको चुनावी गित सुनाउदै इरिक्सा र अटो दैलो अगाडि आइपुग्छ ,यसले पुरै टोलवासी हैरान छौ ।
चुनावी प्रचारको चर्को ध्वनी प्रदुषणले आजित बनेका केदार प्रसाद भन्छन्‘ हामी तबाह (हैरान) भइसकेका छौ , एउटा गएको २ मिनेट भएको हुदैन अर्को आइ हाल्छ , अनि त्यो जान्छ फेरि अर्को आइपुग्छ ।
गल्लीमा आइपुगेको इरीक्सा चोकमा ५ मिनेट रोकेर झन ठूलो स्वरमा चुनावी गित बजाइ दिदा घरभित्रै पनि बस्न मुश्कील हुने गरेको साहले बताए ।
निर्वाचन आचारसंहितको ठाडै उल्लंघन भइरहेको भएपनि सम्बन्धित निकायले यस बारे कुनै कदम नचालेको गुनासो उनको छ ।


वीरगन्ज महानगरपालिकाको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले पनि चुनावी प्रचारका लागि भइरहेको ध्वनी प्रदुषण बारे मौखीक गुनासो आएको बताए ।
पौडेलले भने ,‘ एक त ध्वनी प्रदुष्ण गर्नै पाइदैन , अर्कोे कुरा यसरी प्रचार गर्नु निर्वाचन आचार संहिताको ठाडो उल्लंघन पनि हो ।
आचारसंहिता उल्लंघन गर्ने दल वा उम्मेदवारलाइ कार्वाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने उनले बताए ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले ध्वनी प्रदुषण गरेका दल वा उम्मेदवार विरुद्ध कसैले लिखित जाहेरी दिए प्रहरीले तुरुन्तै मुद्धा चलाइ दिने बताए ।
ढकालले भने ,‘ ध्वनी प्रदुषण गर्नु फौज्दारी संहिता विरुद्ध हो , ध्वनी प्रदुषण गर्नै पाइदैन , यदि कसैले जाहेरी दिए प्रहरीले मुद्धा चलाइ दिन्छ ।
प्रजिअ ढकालले चुनाव प्रचारमा कसैले पनि ध्वनी प्रदुषण गर्न नपाउने भनेर सर्वपक्षीय बैठकले पनि पटक पटक निर्णय गरिसकेको भएपनि त्यस्को व्यापक उल्लंघन भइरहेको बताए ।

Related posts

एसईईको रिजल्ट वैशाख अन्तिम हप्तामा

MadhesKhabar

वीरगन्ज महानगरले एक वर्षमा उठायो ६१ करोड ४७ लाख राजश्व

MadhesKhabar

वीरगन्जमा ५० रुपैयामै खाना खुवाउने भरेपट भोजनालय सहयोग नजुट्दा बन्द

MadhesKhabar

Leave a Comment