वीरगन्ज,१७ माघ :पर्साको क्षेत्र नम्बर ३ को पकहाँमैनपुर गाउँपालिकामा शनिबार नेकपा एमालेको पालिकास्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। संगठन सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
भेलालाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का एमाले उम्मेदवार रूपेश पाण्डेले क्षेत्रको दिगो विकास नै आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले पकहाँमैनपुरसहित सम्पूर्ण क्षेत्रलाई आर्थिक रूपमा सबल बनाउने, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने तथा समावेशी विकासको मार्गचित्र आफ्नो एजेन्डा रहेको बताए ।
एमाले मधेस प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज बिजय चौरसियाको अध्यक्षता र नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा प्रमुख अतिथ्यतामा आयोजित भेलामा पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दासको पनि उपस्थिति रहेको थियो।
“पर्सा–३ को सम्भावना धेरै ठूलो छ, यसलाई योजनाबद्ध विकास र सक्षम नेतृत्व चाहिन्छ,” पाण्डेले भने । जनताको विश्वास र सहभागिताबाट मात्र वास्तविक परिवर्तन सम्भव हुने उनले उल्लेख गरे। उनले युवाको सक्रियता, किसानको योगदान र आम नागरिकको अपेक्षालाई नीतिगत तहमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए।

