वीरगन्ज,१४माघःपर्सा क्षेत्र नम्बर २ का जसपा नेपालका उम्मेदवार अशोक टेमानीले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
निर्वाचन आयोगले फागुन २१ का लागि जारी गरेको निर्वाचन आचार संहिता २०८२ को परिच्छेद ४ को बुदाँ नम्बर १३ को राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत १ (झ) मा लेखिएको छ ‘विभिन्न क्लव, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरणगर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने ’

तर पर्सा–२ का जसपा नेपालका उम्मेदवार टेमानीले भने बुधबार वीरगन्जको नारायणी अस्पतालमा उपचाररत नवजात शिशु र सुत्केरी महिलाहरुलाई कपडा वितरण गरेका हुन् । जुन निर्वाचन आचारसंहतिको ठाडो उल्लंघन हो ।
जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा टेमानीले नवजात शिशु र सुत्केरी महिला गरी १ सय ३५ जना कपडा वितरण गरेको बताइएको छ ।
फागुन २१ को निर्वाचनका लागि पर्सामा गठित निर्वाचन आचारसंहिता अनुगमन उपसमितिका संयोजक तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले उम्मेदवार टेमानीले अस्पतालमा कपडा वितरण गर्नु निर्वाचन आचारसंहिता विपरित भएको बताए । उनले भने,‘ यो निर्वाचन आचारसंहिता विपरित हो। यदि कसैले उजुरी दियो भने त्यसबारे छानबिन गरेर सम्बन्धित उम्मेदवारविरुद्ध कारबाही हुन्छ ।’
यसबारेमा प्रतिक्रिया लिन उम्मेदवार टेमानीलाई उनको मोबाइलमा फोन गरेर सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।

